Rumpum Advertisement

सोमबारदेखि अमेरिकाले कोभिडविरुद्धको खोप दिन सुरू गर्ने

Neuro
सोमबारदेखि अमेरिकाले कोभिडविरुद्धको खोप दिन सुरू गर्ने

विराटनगर/अमेरिकामा भोलि अर्थात् सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

बिबिसीमा उल्लेख गरेअनुसार फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सर्वसाधारणले सोमबारदेखि खोप लगाउन पाउने अधिकारीहरूले बताएका हुन् । यही हप्ताभित्र खोपको पहिलो तीस लाख डोज सबै राज्यमा पुर्‍याइने भएको छ ।

अमेरिकी नियामक निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले सुरक्षित मानिसकेको फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत प्रभावकारी हुने देखाएको छ । फाइजरले पहिलो चरणमा स्वास्थ्यकर्मी र लामो अवधिका लागि केयर होममा बसिरहेकालाई खोप दिइने भएको छ ।

उच्च प्राथमिकतामा परेकाबाहेक अन्य अमेरिकीले जनवरीदेखि खोप पाउन सुरू हुने र एप्रिलसम्ममा खोप सहज उपलब्ध हुने ठानिएको छ । फाइजर खोपको दुई डोज लगाउनु पर्ने हुन्छ । यो खोप २१ दिनको फरकमा दुईपटक दिइन्छ । पहिलो मात्रामा रोग प्रतिरोधी शक्ति बन्न थाल्छ तर, दोस्रो मात्रा खोप दिएको सात दिनपछि मात्र यो पूर्ण प्रभावकारी हुन्छ ।

खोपलाई असाध्यै कम तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा सुख्खा बरफ प्रयोग गरेर चिस्यानमा राखिएका खोपलाई खोप लगाउने स्थानसम्म पुर्‍याइनेछ । उत्पादक कम्पनीले मार्चसम्ममा दश करोड मात्रा खोप अमेरिकालाई उपलब्ध गराउन सहमति गरेको छ ।