Rumpum Advertisement

विराटनगरबाट भन्सार छलीको कपडा बरामद, एक पक्राउ

विराटनगरबाट भन्सार छलीको कपडा बरामद, एक पक्राउ

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–६ सरोचीयाबाट भन्सार छलीको कपडा बरामद गरेको छ ।

भारतबाट तस्करी गरेर ल्याउँदै आशिफ खानले घरमा भण्डारण गरेर राखेको अवस्थामा एक लाख ६२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार कपडा तस्करीमा संलग्न खानलाई पनि शनिबार साँझ ७ः४५ बजेतिर पक्राउ गरिएको छ ।

प्रहरीले दुई सय ४० पिस सुइटर, ८४ पिस सरवार र १५ पिस कुर्तासहितका अवैध कपडा बरामद गरेको हो । डीएसपी राईका अनुसार बरामद गरिएको कपडासहित पक्राउ परेका खानलाई आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइने छ ।

मोरङ प्रहरीले पछिल्लो समय अवैध रुपमा भन्सार छली गरेर ल्याइएका कपडा लगायतका सामान नियन्त्रण गर्ने क्रमलाई तीव्र पारेर लगेको छ । गत शुक्रबार विराटनगर–७ मा तरुणकुमार रौनियारको गोदामबाट तस्करी गरेर ल्याई भण्डारण गरेर राखेको अवस्थामा ३३ लाख ४१ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध आयात र निर्यात नियन्त्रणका लागि विशेष अप्रेसन चलाइएको जानकारी दिए । उनका अनुसार तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष निगरानी बढाएर कडाई गरिएको छ ।