birat ribon

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, ओली सहभागी हुने/नहुने टुङ्गो छैन

Neuro
नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, ओली सहभागी हुने/नहुने टुङ्गो छैन

विराटनगर । लामो समयदेखि शक्ती संघर्षमा रुमलिएको र चरम गुटबन्दीका कारण संकटमा फस्दै गएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (आइतबार) पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ ।

यो बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको हो । उक्त बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने या नहुने भन्ने बारेमा टुंगो लागिसकेको छैन । तर महासविच विष्णु पौडेलले भने ओली सहभागी हुने बताएका छन् ।

cura insider

आन्तरिक विवादका कारण फुटकै संघारमा पुगेको नेकपाको बैठक समस्या समाधानतर्फ उन्मुख हुने दाबी गरिएको छ । तर बैठकले समस्या समाधानको बाटो खोज्ने हो या विवादलाई थप उत्कर्षमा पुर्याउने हो भन्नेमा नेताहरु नै दुविधामा परेका छन् ।

मंसिर २१ गते धुम्बाराहीमै बसेको बैठकमा ओली सहभागी भएनन् । त्यतिबेला पनि उनी सहभागी हुने चर्चा थियो । तर अन्तिम समयमा आएर नेता ईश्वर पोखरेलमार्फत दुई पन्नाको पत्र पठाएर सहभागी हुन नसक्ने जनाएका थिए । पोखरेलले त्यही पत्र पढेर सुनाउँदै ओली सहभागी हुन नसक्ने जानकारी गराए । मंसिर २१ मा केही बेर बसेको स्थायी कमिटी बैठक २८ गते पुनः बस्ने गरी सकिएको थियो ।

यसअघि ओलीले धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट रहेको बताएपछि त्यहाँको सुरक्षा अवस्था मजवुत बनाइएको थियो । एक नेताका अनुसार पार्टी कार्यालयको बैठकस्थल बालुवाटारको भन्दा साँघुरो रहेकाले कोरोना संक्रमणको जोखिम रहेको भन्दै अन्य भन्दा पनि ओलीले स्वास्थ्य सुरक्षा थ्रेटको कुरा गरेका थिए ।

मंसिर २४ मा अध्यक्ष ओली र दाहालबीच छलफल पनि भयो । तर ओलीले वरिष्ठ नेता माधव नेपाललाई छाडेर आफूसँग सहकार्यमा आउन दाहाललाई आग्रह गरेपछि छलफलबाट कुनै निस्कर्ष निस्कन सकेन । ओली र दाहाल पक्षीय नेताहरुले विभिन्न हिसाबमा छलफल र भेटघाटलाई तीव्र पारे पनि केही नतिजा निस्कन सकेको छैन । कुनै कुरामा सहमति पनि हुन सकेन । त्यही भएर आजको बैठकलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । यसवीचमा शंकर पोखरेलले पनि खुमलटार पुगेर कार्यकारी अध्यक्ष प्रचण्डसँग सम्वाद गरेका थिए ।

आइतबार बस्ने स्थायी कमिटीको बैठकमा कुनै ठोस एजेण्डामाथि छलफल गर्ने कार्यसूची नै नबनेको नेताहरु बताउँछन् । मंसिर २१ यता एजेण्डा तय गर्न सचिवालयको बैठक पनि बसेको छैन । यसअघिको स्थायी कमिटी बैठकमा केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्रहरु प्रस्तुत भएका छन् । स्थायी कमिटी सदस्यहरुलाई ती पत्रहरु पढेर आउन भनिएकाले आइतबारदेखि नेताहरुले बैठकमा बोल्ने क्रम सुरु हुने बताइएको छ ।

स्थायी कमिटीमा रहेका ओली, प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले आआफ्नो पक्षको लविङ गर्ने निश्चित रहेको स्रोतले बतायो । पछिल्लो समय नेताहरु आफ्नो गुटको एजेन्डालाई कसरी स्थापित गर्ने र अर्काको एजेन्डालाई कसरी परास्त गर्नेभन्ने ध्याउन्नमा केन्द्रीत रहेको स्रोतले कोशी अनलाइनलाई बतायो । त्यही भएकाले पनि आजको बैठकमा सहमति जुट्ने सम्भावना न्यून रहेको बताइएको छ ।

आफूलाई गुट निरपेक्ष बताउने हरिबोल गजुरेल लगायतका नेताले प्रचण्ड र ओलीलाई आपसमा मिलेर जान बैठकमा आग्रह गर्ने तयारी गरेका छन् । तर उनीहरुको आग्रहलाई दुवै अध्यक्षले ग्रहण गर्नसक्ने सम्भावना कम रहेको स्रोतको भनाइ छ । गजुरेलले निर्वाचन नहुञ्जेलसम्म महाधिवशेन नगरी प्रचण्डलाई एकल अध्यक्ष बनाउनुपर्ने र केपी ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बन्न दिनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी, अर्का नेता जनार्दन शर्माले राजावादीहरुसँग ओली सरकार नरम भएको भन्दै स्थायी कमिटीको बैठकमा विशेष प्रस्ताव नै पेश गरेका छन् ।स्थायी कमिटीको बैठक चलिरहेका बेला ओली र प्रचण्डवीचको सम्बन्ध केही नरम देखिएको र दुई नेताबच सम्वाद पनि सुरु भएको देखिन्छ । यसबाट स्थायी कमिटीका केही नेताहरु अलिकति उत्साही पनि देखिए पनि सहमति जुट्ननसक्दा भने पार्टी कुन अवस्थामा पुग्ने हो भन्ने यकिन छैन ।

दुवै गुटले जिल्ला र प्रदेश स्तरमा आआफ्ना भेला र कार्यक्रमहरु आयोजना गरिरहेका छन् । ती भेला र कार्यक्रमलाई उच्च नेताहरुले साथ दिने र उनीहरु नै सहभागी हुने गरेपछि नेकपाको विवाद झन् चरम विन्दुमा पुगेको आंकलन गर्न थालिएको छ । केन्द्रमा पनि नेताहरु आआफ्नो पक्षमा खुलेरै लागेका छन् । गुटगत जमघट र भेलाका कारण पार्टी थप संकटमा फस्दै गएको नेताहरुले बताए । शनिबार (हिजो) विराटनगरमा ओली पक्षका युवाहरुले शक्ती प्रदर्शन र भेलाको आयोजना गरेका थिए ।

jackson ribon