birat ribon

प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा …

Neuro
प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा …

रवीन्द्र काफ्ले । पाँचथर

तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो ।

cura insider

नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन । झार पलाउन थाल्यो, स्थानीयवासीले भवन भत्किएर जाने आकलन गर्न थाले ।

गत वर्ष फागुन ११ आफ्नो ६९औँ वार्षिकोत्सव आफ्नो जन्मस्थानमा बिताउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली पुख्र्यौली घर आठराई–४ इवा आए । कतिपयले आलोचनासमेत गरेको उनको जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीले इवामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्किए । प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्यचौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब भने आश्चार्यमा परे । सबैको जिज्ञासा थियो, यहाँ के हुन लागेको होला ?

नेताहरुका आश्वासन वर्षौँसम्म पूरा हुँदैनन् भन्ने सुनेका उनीहरु पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालनको शुरुआत हुने सुनेपछि उक्त कुरामा विश्वास गर्न छाडे । प्रधानमन्त्रीको घोषणाको आठ महिना नबित्दै पुराना भवन मर्मत भए । नवौँ महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारिए । प्राध्यापक आए, विद्यार्थी भर्ना आवदेन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीको सूची सार्वजनिक भयो ।

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधर राईबाट बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भएपछि यहाँका गणेश प्रसाईँले भने , “साँच्चै नेताहरुले चाहँदा जे पनि हुनेरहेछ । अब बहुप्राविधिक शिक्षालयले यहाँको अवस्था बदल्ने छ ।” शिक्षालय सञ्चालनमा ल्याइएको पुरानो भवन, रनदल आधारभूत विद्यालय र वडा कार्यालय रहेको चोकमा व्यवसाय सञ्चालन गर्ने प्रसाईँ मात्रै होइन, दुर्गम इवामा बहुप्राविधिक शिक्षालय स्थापना भएपछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानीयवासी खुशी भएका छन् ।

स्थानीयवासीले सोचेका थिए– बहुप्राविधिक शिक्षालयका लागि भवन बन्ला अनि पढाइ शुरुआत होला तर यहाँ ८० विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थाल्नेछन् । “प्रधानमन्त्रीको यहाँ जन्म हुनु नै हाम्रो ठूलो भाग्य रहेछ”, इवाका नरेन्द्रकुमार इङ्नामले भने , “प्रधानमन्त्रीकै पहलमा यहाँ बहुप्राविधिक शिक्षालय स्थापनाले आम आठराईवासी खुशी छौँ ।” दुर्गम क्षेत्रका निकै कम विद्यार्थीले मात्रै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरेको तर त्यसका लागि टाढा पुग्नुपर्ने र ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको इङ्नामको भनाइ छ । यहाँ स्थापित शिक्षालयले तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका विद्यार्थीले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

आठराई–४ का वडाध्यक्ष श्यामकुमार भट्टराई प्रधानमन्त्रीले जन्मदिनको अवसरमा गरेको घोषणाको प्रतिफलस्वरुप बहुप्राविधिक शिक्षालय स्थापना भएको बताउँछन् । “तेह्रथुममा कुनै पनि प्राविधिक शिक्षालय नभएका कारण हामीले पटक–पटक यसबारे आवाज उठाउँदै आएका थियौँ”, वडाध्यक्ष भट्टराईले भने, “प्रधानमन्त्रीले जन्मदिनमा घोषणा गर्नु भएअनुसार नौ महिनामै प्राविधिक शिक्षालयमा पठनपाठन शुरुआत भएको छ ।” प्रधानमन्त्री ओलीको घोषणाअनुसार उनको जन्मघर छेउ तीनसल्लेमा तत्कालै भवन निर्माण पूरा नभएको अवस्थामा अस्थायीरूपमा शिक्षालय स्थापना भई पठनपाठन शुरु हुनु झनै खुशीको विषय रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले औपचारिक शिक्षाको शुरुआत गरेको इवास्थित प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको बताउँछन् । “यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्यो, विज्ञान सङ्काय कहीँ पढाइ हँुदैनथ्यो”, बुढाथोकीले भने, “आफ्नै ढिँडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन् । यो अत्यन्तै खुशीको कुरा छ ।”

आफ्नी छोरीलाई करिब एक लाख ८० हजारमा प्राविधिक शिक्षा पढाइरहेका प्रधानाध्यापक बुढाथोकी आठराईमा करिब ५० हजारको लागतमा सोही तह पठनपाठन हुने कुराले झनै दङ्ग छन् । प्रधानमन्त्री जन्मगाउँबाट शुरुआत भएको प्राविधिक शिक्षा विस्तारको कार्य देशका अन्य गाउँमा समेत पुगी बेरोजगार उत्पादन गर्ने शिक्षाको अन्त्य हुने उनको विश्वास छ ।

तेह्रथुम बुहप्राविधिक शिक्षालय तेह्रथुमका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत इवामा ५९औँ बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । यहाँ कृषि विज्ञानअन्तर्गत बाली विज्ञान र पशु विज्ञानको अध्यापन हुनेछ । यहाँ तत्कालै ८० विद्यार्थी रहनेछन् ।

शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी रहेको भट्टराईले बताए । प्रधानमन्त्री ओलीको जन्मस्थान तीनसल्लेमा ‘केपी ओली ट्रष्ट’ले शिक्षालयलाई ३० रोपनी जमिन उपलब्ध गराइसकेको छ । तर उक्त स्थानमा भवन निर्माणका लागि गुरुयोजना निर्माण मात्रै सम्पन्न भएको छ । “विस्तृत परियोजना प्रतिवेदन निर्माण हुनेबित्तिकै भवन निर्माण अघि बढाउछौँ”, भट्टराईले भने , “अहिले उपयुक्त ठाउँका रूपमा स्वास्थ्यचौकीका पुराना भवन र एक सामुदायिक भवन भेटिएपछि यहाँ अध्यापन शुरुआत गरिएको हो ।”

दुर्गम ठाउँ भए पनि यहाँ ८० जनाको कोटामा १३६ विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा प्राप्त अङ्कका आधारमा ८० जना छनोट भएका छन् । ८० भन्दा कम विद्यार्थी हुने आकलन गरिए पनि धेरै आवेदन आउनुले प्राविधिक शिक्षामा विद्यार्थी तथा अभिभावकको आकर्षण कति छ भन्ने स्पष्ट भएको भट्टराई बताउँछन् । यहाँ कतिपय अप्राविधिक विषयको अध्यापनका लागि स्थानीय शिक्षकहरुको समेत सहायता लिइने भएको छ ।

तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने हुँदा यस्ता जनशक्ति उत्पादनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । “दक्ष जनशक्तिले एक त राष्ट्रलाई समृद्ध र सबल बनाउन सहयोग गर्ने भए, अर्को आफैँ स्वरोजगार हुने भए”, मुख्यमन्त्री राईले भने , “त्यसैले प्रदेश सरकारले आफैँ पनि बहुप्राविधिक विश्वविद्यालय निर्माणको अवधारणा अघि सारेको छ ।”

ग्रामीण बस्तीमा यस प्रकारका ठूला संरचना निर्माणले त्यहाँ व्याप्त बेरोजगारी, अशिक्षा, पछौटेपन, पूर्वाधार अभाव, बसाइँसराइजस्ता समस्या समाधानमा सहयोग पुग्ने सामाजिक क्षेत्रका जानकार बताउँछन् । रासस

jackson ribon