Rumpum Advertisement

अमेरिकामा खोप अभियान सुरु हुँदै

अमेरिकामा खोप अभियान सुरु हुँदै

विराटनगर । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

अभियान अन्तर्गत सर्वसाधारणलाई खोप दिइने छ । नियामक निकाय फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए) ले आश्मिक प्रयोगका लागि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृति प्रदान गरेसँगै सोमबारदेखि सर्वसाधारणलाई खोप दिने तयारी भएको हो । खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने अमेरिकी अधिकारीले बताएका छन् ।

फाइजर–बायोएनटेकको खोपले कोरोना भाइरसको संक्रमणबाट ९५ प्रतिशतसम्म जोगाउन सक्ने देखिएको छ । सो खोपलाई एफडिएले सुरक्षित तथा प्रभावकारी देखिएको भन्दै स्वीकृति प्रदान गरेको हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन लाख चार हजार नौ सय ४४ सङ्क्रमितको मृत्यु भइसकेको छ । सङ्क्रमित संख्या एक करोड ६५ लाख २८ हजार पाँच सय ८५ पुगेको छ ।

नोभेम्बर यता अमेरिकामा संक्रमण तथा मृत्यु हुनेको संख्या अति तीव्र गतिमा बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फाइजरको खोपलाई स्वीकृति प्रदान गर्न एफडिएलाई तीव्र दबाब दिएको थियो ।

सबैभन्दा पहिले स्वीकृति प्रदान गरेको बेलायतमा खोप अभियान सुरु भइसकेको छ । यस्तै क्यानडा, बहराइन तथा साउदी अरेबियाले पनि फाइजरको खोपलाई स्वीकृति प्रदान गरेका छन् ।