Rumpum Advertisement

आफ्नै लयमा ‘थियौ तिमी दिलमा’

आफ्नै लयमा ‘थियौ तिमी दिलमा’

नेपाली साङ्गीतिक बजारमा निरन्तर साहित्यिक स्वाद पस्किने द टच क्रियसनले गजलगो ऋषि बस्ताकोटीको लोकप्रिय गजल ‘थियौ तिमी दिलमा’लाई युटुब च्यानलमार्फत हालै सार्वजनिक गरेको छ ।
नेपाली सुगम सङ्गीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा रहेको गजलगो ऋषि बस्ताकोटीको शब्द– रचना ‘थियौ तिमी दिलमा’लाई राजेश थापाले सङ्गीत दिएका छन् । गजलको भिडियो प्रस्तुतिमा गायक सिग्देलकै अभिनय रहेको छ ।
रिदम कँडेलको सङ्गीत संयोजन, कुशल थापाको रेकर्डिङ, साजन शाहको ध्वनि–सम्पादन, सुवास शाहको छायाङ्कन तथा अल्बर्ट बस्ताकोटीको दृश्य–सम्पादनमा तयार भएको यो म्युजिक भिडियो हेर्न–सुन्नलायक बनेको छ ।
गजल लेखनमा अढाइ दशकदेखि निरन्तर क्रियाशील बस्तकोटीले यो गजलमा प्रेम मनोविज्ञानको भित्री तहमा पुगेर वियोगान्त कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताए । गजलगो बस्ताकोटीका ‘ज्वालाका रापहरू’ गजल सङ्ग्रह र ‘गजल स्पर्श’ गजल एल्बम सार्वजनिक भइसकेका छन् ।
साहित्यिक र सामाजिक अभियानमा सक्रिय बस्ताकोटीको ‘ओखती छ तनको बिरामीलाई यहाँ मन बिरामी भइदियो’ गजल प्रसंशित सिर्जनामध्ये एक हो ।
मनोजराजको स्वर तथा गैह्रे सुरेशको सङ्गीत रहेको ‘ओखती छ तनको बिरामीलाई’ गजल नेपाली गजल पारखीहरूमाझ लोकप्रिय छ ।
आफ्नै लयमा रहेको ‘थियौ तिमी दिलमा’ गजलले पनि नेपाली गजल पारखीहरूको मन जित्ने विश्वास गरिएको छ ।