Rumpum Advertisement

‘ठूली-हजुर’सँग जोडिएका केही अनुत्तरित प्रश्न

‘ठूली-हजुर’सँग जोडिएका केही अनुत्तरित प्रश्न

कृष्ण अधिकारी

८० वर्ष पहिले पूर्व चार नम्बर भोजपुरको थुम–दिङ्लाअन्तर्गत पर्ने मझुवाबेँसीमा एउटा सर्वथा नवीन घटना भयो । हिमनदी अरूणको छेउमा रहेको यो ठाउँ निरन्तर देश–विदेशका खोजकर्ताहरूको एउटा गन्तब्य बनेको छ । त्यसबेला भएको त्यो अनपेक्षित घटनाबारे आज पनि टिप्पणी र चर्चा हुने क्रम घटेको छैन ।

मझुवाबेँसीमा अनौठो घटना हुनुलागेको थाहा पाएर तत्कालीन राणा सरकारका बडाहाकिम माधवशम्शेर राणा दर्जनौँ सैनिकका साथ आए । धेरै मान्छेलाई पक्राउ गरे । ती माधव शम्शेरले त्यहाँ यज्ञका लागि निर्माण गरेको विशाल यज्ञकुण्ड पुर्न लगाए । त्यो यज्ञकुण्डमा होम्न ठुलो परिमाणमा समिदा (दाउरा), दर्जनौँ बोरा तिल–चामल र टिनका टिन घ्युको चरु तयार गरिएको थियो ।

यज्ञकुण्डमा होमिन केही ‘मानव–चरु’ पनि तयार थिए । ती मानव–चरुले ‘म यज्ञकुण्डमा दाह हुन मन्जुर छु,’ भन्ने लेखिएको कागजमा ल्याप्चे सहीछाप गरेका थिए । बडाहाकिमको टोलीले ती मन्जुरनामाहरू पनि बरामद र जफत गर्‍यो ।

आत्महत्या त्यसबेला पनि गैरकानुनी रहेछ । ‘प्रजाको जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,’ भन्दै बडाहाकिमले आत्मदाहका नाइकेहरूलाई थुनामा राख्यो । समयको अन्तरालमा उनीहरू ‘अब म मर्दिनँ’ भन्ने कागज गर्दै छुटेर आए ।

अग्निकुण्डमा हामफाल्ने योजना असफल भए पनि जीवन त्याग गर्ने उनीहरूको योजना असफल भएको थिएन । उनीहरूले अरूण नदीमा जलसमाधि लिने योजना बनाए । पहिलाजस्तै जलसमाधिमा जानेहरूको सूची तयार गरेर मन्जुरनामा लिइएको थियो, त्यो पल्ट पनि ।

१९९८ सालको हरिशयनी एकादशीको दिन बिहानको उज्यालो नहुँदै ‘ठूली–हजुर’को पछि लागेर ती मान्छेहरू अरूणतिर लागे । साथमा केटाकेटीहरू पनि थिए, तिनका बाबु–आमा पनि थिए । ती सबै घर–सल्लाह गरेरै आएका थिए । कोही धन–सम्पत्ति छोडेर दैलो उदाङ्गै राखेर परिवार नै आएका थिए ।

उपन्यासकार निलम कार्की निहारिकाले आफ्नो उपन्यास ‘योगमाया’मा उल्लेख गरेअनुसार रत्नमान बस्नेत नाम गरेका एक जना स्थानीय आफ्नो घर, श्री–सम्पत्तिमा आगो लगाएर सपत्नी कुटीतिर बस्न गएका थिए । यो प्रसङ्ग अग्निसमाधि लिने प्रयत्नभन्दा पहिलेको थियो ।
अरूणमा जलसमाधिका लागि हिँडेका मान्छेहरूले टपरीमा बत्ती बालेर बोकेका थिए ।

सम्भवतः इर्खुवा खोला र अरूणको दोभानमा पुगे उनीहरू । त्यहीँको एउटा ढुङ्गामा टेकिन् ‘ठूली हजुर’ले र अरूणको पानीमा पसिन् । पछि–पछि लामबद्ध भएर अरू पनि अरूणको चिसो पानीमा हामफाल्दै गए । आमाहरूले आफ्ना नानीहरूलाई पानीमा हुलेर आफू पसे । यसरी ६६ जना नारी–पुरुष र केटाकेटीले जलसमाधि लिए । राणा सरकारले पत्तो पाएन ।

यो कामको मुख्य नेतृत्व, शिवशक्ति भक्तिमाता, ठूली हजुर अर्थात् योगमायाले गरेकी थिएन् । कुलुङका डम्बरबहादुर बस्नेतले सर्वप्रथम नेपालीमा योगमाया न्यौपानेबारे पुस्तक प्रकाशित गरेका थिए, इटहरीबाट । त्यो बेला एउटी विदेशी महिलाले योगमायाका बारेमा खोज गरेकी थिइन् रे ! पछि विराटनगरका चन्द्रबहादुर बस्नेतले पुस्तक प्रकाशित गराए । डाक्टर गोविन्दमानसिंह कार्कीले एउटा अनुसन्धानमुलक ग्रन्थ तयार पारे । निलम कार्की निहारिकाले ‘योगमाया’ नामक उपन्यास नै लेखिन् ।

यीबाहेक अनेक अन्वेषक, लेखक, पत्रकारले योगमायाका विषयमा खोज गरेका छन्, कलम चलाएका छन् । त्यसैकारण, यहाँ योगमायाबारे धेरै प्रसङ्ग उल्लेख गरिएन ।
मैले योगमायाको सन्दर्भ चर्चा गर्नुको मूल उद्देश्य मेरा केही अनुत्तरित जिज्ञासाहरू अघि सार्नु रहेको छ । ‘ठूली-हजुर’प्रति प्रारम्भमा समाजले जस्तोसुकै व्यवहार गरे पनि जेसुकै लान्छना लगाए पनि उनको जीवनको उत्तरार्धतिर त्यस भेगका मान्छेले उनलाई नै सबै कुरा समर्पण गरेका थिए ।

मानिसहरू योगमायालाई देवी र उनको बोलीलाई देववाणी ठान्न थालेका थिए । राणाकालको अँध्यारो युगमा शिक्षा थिएन, चेतना थिएन । उनीहरू ‘ठूली–हजुर’प्रति समर्पित थिए ।

अग्निसमाधिको प्रयत्न र जलसमाधिलाई योगमायाको सामाजिक विद्रोह हो भन्ने ठहर गरेको छ, वर्तमान समयले । त्यस समयमा शासनप्रति विद्रोह गर्नु सानो कुरा थिएन । राणाहरूले ज्यान नै हरण गर्थे । त्यस्तो विषय परिस्थितिमा विद्रोह गर्ने योगमाया सहासी महिला हुन् भन्ने कुरा मान्नैपर्छ तर के त्यो विद्रोहको स्वरूप सही थियो ? मेरो एउटा विज्ञासा हो यो ।

त्यसअघि ‘ठूली–हजुर’लाई राणा सरकारले आश्रममा ‘होम–एरेस्ट’ (नजरबन्द) गरेको थियो । उनका अनुयायीहरूलाई अन्यत्र लगेर बन्दी बनाएको थियो । मेरो दोस्रो जिज्ञासा, आखिर त्यस्तो कुन शक्ति थियो योगमायासँग र राणा सरकारले उनलाई कारागारमा बन्दी बनाउन सकेन ?
योगमायाका पछिपछि जलसमाधि लिने ती ६५ जना मान्छेको बाँच्न नपाउने के दोष थियो ? ती अबोध बालबालिकाको के दोष थियो, जसलाई जीवनको अर्थ नै नबुझी अरूणको चिसो पानीमा डुबेर प्राण त्याग्न लगाइयो ? के आजको भौतिकवादी समाज त्यस कामलाई धर्म ठान्न सक्छ ? अग्निकुण्डमा हामफाल्दा वा अरूणमा डुब्दा स्वर्ग पुगिन्छ भन्ने मान्यता राख्छ वर्तमान समाज ?

विद्रोह त भोलिको उज्यालो संसार र समुन्नत समाजका लागि गरिन्छ । नेतृत्वकर्ताले आफ्ना अनुयायीहरूको सुरक्षा गर्छ र विद्रोहबाट प्राप्त उपलब्धि उनीहरूलाई हस्तान्तरण गर्छ । तर ‘ठूली–हजुर’ आफैँले किन जलसमाधि लिइन् ? जीवनवादी चेतनाशून्य ती अनुयायीहरूलाई किन जलसमाधिका लागि प्रेरित गरिन् ? त्यस्तो विद्रोहले कसलाई फाइदा भयो ? उनले आफूसँगै समाधि जानेहरूबाट कागज गराउनुको मनसाय के थियो ?

म त्यही क्षेत्रमा त्यो घटनाको १२ वर्षपछि जन्मिएर त्यही हुर्किएको मान्छे हुँ । योगमाया ‘ठूली हजुर’का बारेमा त्यसै बेलादेखि सुन्दै आएको छु र नै मेरो मनमा यी प्रश्नहरू उठेका हुन् । मैले आजसम्म ती प्रश्नको जवाफ पाएको छैन ।

म आजका प्रबुद्ध विद्वानहरूसँग आग्रह गर्छु कुन शक्ति प्रयोग गरेर किन ठूली–हजुरले सामूहिक जलसमाधिजस्तो अनौठो कार्य गर्नुभयो ? विद्रोहको यो बाटो ठीक थियो कि थिएन ? यो कार्य मानव–हत्या थियो कि धर्म ? भन्ने मेरो जिज्ञासा निवारण गरिदिनु हुन आग्रह गर्छु ।

मेरा यी जिज्ञासाहरू सामाजिक बहसको विषय बनुन् । योगमायाका बारेमा कतिपय कुरा अतिशयोक्ति शैलीमा आएका छन, तिनको धरातलीय यथार्थ निरुपण होस् ।