Rumpum Advertisement

‘पिरिम नलाउने’बाट अपार प्रेम पाएका आशिष सचिन

‘पिरिम नलाउने’बाट अपार प्रेम पाएका आशिष सचिन

माधव काफ्ले

विराटनगर/लगनशीलता र निरन्तरताले मानिसलाई त्यो उचाइमा पुर्‍याउँछ, जहाँ पुग्ने उसको सपना हुन्छ । गायक आशिष सचिनको जीवनमा यो भनाइ हुबहु मिलेको छ ।

गायक आशिष गौतमका लागि बुबाले रोजेको नाम ‘आशिष’ र आमाले बोलाउन नाम ‘सचिन’ हो । युटुबमा भने आशिष सचिनका नामबाट सेलिब्रिटी छन् ।

सानैदेखि उनको सपना थियो, गायन र नृत्य गर्ने, सबैमाझ चिनिने । नभन्दै आज उनको सपना धेरथोर साकार भएको छ, जसमा उनको लगनशीलता र निरन्तरता मुख्य कारक बनेको छ ।

कलाकार वर्षा राउतसँग आशिष सचिनले अभिनय गरेको ‘भैगो भैगो तिमीसँग पिरिम नलाउने’ गीत नसुन्ने नेपाली कमै होलान् । दुई वर्षअघि सार्वजनिक भएको यो म्युजिक भिडियोमा सचिनको गायकीमात्र होइन, अभिनयको पनि उत्तिकै प्रशंसा भएको छ ।

रोमान्टिक छु, एक–कान दुई–कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलुलगायत गीतमा आशिषको स्वर सुन्न सकिन्छ । उनको सुपर–डुपर हिटचाहिँ ‘पिरिम नलाउने’ नै हो । गायक आशिष दुःखका अनेक सागर तरेर नेपाली सङ्गीत क्षेत्रको एउटा उचाइमा पुगेका हुन् । सङ्घर्षका पुराना पल सम्झँदा पनि उनी जहिले पनि भावुक हुन्छन् ।

सानैमा घर छुट्यो

बच्चा बेलादेखि नै आशिषको सपना साङ्गीतिक क्षेत्रमा सेलिब्रिटी हुने थियो । सोही सपनाका लागि उनले बाल्यवस्थामै घर छोडेर एक्लो सङ्घर्ष गरे । आमाबाबु (विशेषगरी बाबु)को मायाबाट वञ्चित उनले परिस्थितिवश घर छोड्नुपर्‍यो ।

काठमाडौँको मैतीदेवीमा जन्मिएका आशिष नौ महिना नहुँदै बाबुको मायाबाट टाढिनुपर्‍यो । आमाले दैनिक गुजाराका लागि काम गर्दै आशिषलाई दुई वर्ष हुर्काइन् । तर आमाले पनि उनलाई पर्याप्त समय दिन सकिनन् । फलतः उनले आशिषलाई होस्टेल राख्ने निधो गरिन् ।

होस्टेलमा उनले शिक्षकहरूबाट माया पाए । तर घरमा आमाबाबुलाई दङ्ग्याएजस्तो होस्टेलमा हुँदैन । यद्यपि उनी १० वर्षको उमेरसम्म होस्टेलमा बसे । सानैमा आमाको काखबाट छोडिएर होस्टेल बस्न थालेका आशिष आठ वर्षपछि आमासँग काठमाडौँको सुकेधारा फर्किए ।

आशिषले आमासँग चार वर्ष बिताए । गीत–सङ्गीत क्षेत्रमा केही गरुँ भन्ने अठोट राख्ने आशिषले घर छोडेर एक्लो सङ्घर्ष गर्ने सोच बनाए । तर उनी १५ वर्षका मात्र थिए । यस्तो कलिलो उमेरमा कहाँ जानु, के गर्नु ? केही टुङ्गो थिएन । तापनि उनले आफ्नो अडान छोडेनन् । घरबाट निस्किएपछि कामको खोजीमा भौँतारिन थाले ।

उनले एउटा फर्निचरमा काम पाए तर विनापारिश्रमिक खटनुपर्ने, खान–बस्न पाइने । आवश्यक परेको खण्डमा केही खर्च पनि पाइने । केही नहुनुभन्दा त्यही पनि एउटा सहारा भयो ।
त्यहाँ काम गर्दैगर्दा उनले गायिका कुन्ति मोक्तानसँग सङ्गीत सिक्ने अवसर पाए । सङ्घर्षका दिनमा सरस्वती कला केन्द्रमा उनी गाउँथे, नाच्थे । आफूले जानेको कुरा अरूलाई सिकाउँथे ।

‘पहिलो गीतमा सपोर्ट नपाएका कारण मेरो सपना कोमामा गइसकेको थियो । तर पिरिम नलाउनेले मेरो सपना पुनः ज्युँदो बनाइदियो ।’

डान्स–बारमा नाचगान

गीत–सङ्गीत क्षेत्रका लागि जे आइपरे पनि गर्न तयार आशिषले त्यहीबीचमा डान्स–बारमा नृत्य गर्ने अफर पाए । फर्निचरमा विनापारिश्रमिक काम गरिरहेका उनले डान्स–बारमा मासिक दुई हजार पाँच सय तलब पाउने भए ।

‘मेरो लागि त्यो कमाइ सबैभन्दा प्यारो थियो,’ आशिष सम्झिन्छन्, ‘त्यहाँबाट पैसा आउन थालेपछि सङ्गीत क्षेत्रबाट पनि कमाइ हुँदोरहेछ भन्ने अनुभव भयो ।’

डान्स–बारमा तलब पाउन थालेपछि भने आशिषको मनसाय फेरियो । फर्निचरमा बस्ने गरेका उनले कोठा भाडामा लिने सोच बनाए । भाडा महिनाको कम्तीमा एक हजार छ सय थियो । तर लागेको पैसा दिन्छु भन्दा पनि उनले कोठा पाउन सकेनन् । कलिलो उमेरको केटोले कोठा भाडामा मागिरहँदा घरबेटीहरू तर्सिन्थे ।

भाडा तिर्न नसक्ला भनेर धेरैले उनलाई अस्वीकार गरे । अन्ततः एक ठाउँमा उनले दुई महिनाको अग्रिम रकम देखाएर कोठा भाडामा पाए ।

डान्स–बारमा काम गरिरहँदा उनलाई कोरसमा नाच्न अफर आयो । क्यामेराअगाडि नाच्न पाउँदाको खुसी बेग्लै थियो । तथापि उनले धेरै गीतमा कोरस नाच्न पाएनन् । किनकि त्यस्तोमा प्रायः निर्देशक वा कोरियोग्राफरका मान्छेले मात्र मौका पाउँथे ।

क्रमशः गाउन र नाच्नका लागि विदेशबाट पनि अफर आउन थाल्यो । तर नागरिकता र पासपोर्ट नभएका कारण उनी विदेश जान पाएनन् । बुबा बुटवलमा रहेको पत्तो पाएपछि उनलाई भेटेर नागरिकता बनाउन आशिष त्यतातर्फ हानिए ।

बुटवल–७ दीपनगरमा रहेका बुबासँग लामो समयपछि भेट भयो । बाबुले आशिष नाम राखेर जन्मदर्ता बनाइदिएका रहेछन् । उनलाई नागरिकता बनाउन सहज भयो । नागरिकता बनाएपछि भने उनी पुनः काठमाडौँ फर्किए ।

एक दशक साङ्गीतिक क्षेत्रबाट टाढा

डान्स–बारमै काम गर्ने क्रममा उनलाई चीनमा गएर काम गर्ने प्रस्ताव आयो । जहाज चढ्ने लोभले उनले चीन गएर काम गर्न सहमति जनाए । चीन पुगेपछि सुरुआती दिनमा उनी त्यहीँ रमाए । तर उनलाई उनको सपनाले पिरोलिरह्यो ।

‘ठूला–ठूला घर र सफा सहर हेर्न चीन गएको थिएँ । तर मलाई मेरो सपनाले लखेटिरह्यो,’ पुराना दिन सम्झिँदै उनी भन्छन्, ‘कलाकार बन्ने इच्छाले थिचिएर आठ वर्ष बिताएँ । पछि साथीको सुझावमा पुनः नेपाल फर्किएँ ।’

सङ्गीतमा पहिलो कदम

सन् २०१७ मा उनले सङ्गीतकार भीम बिसीसँग काम गरे र पहिलो गीत निकाले । ‘मेरो हरपल तिमी’ बोलको सो गीत खासै चलेन । उल्टै उनको कामको आलोचना भयो । ‘त्यो मेरो पहिलो प्रयास थियो । धेरैले गीत नराम्रो भएको प्रतिक्रिया दिए,’ आशिष भन्छन्, ‘तर अर्कोपटक राम्रो गर्छु भन्ने सोचेर नराम्रो कमेन्टलाई पनि आत्मसाथ गरेँ ।’

गीतले राम्रो दर्शक पाउन नसके पनि सो गीतमा काम गर्ने क्रममा निर्देशक सुब्रतराज आचार्यसँग उनको राम्रो चिनजान भयो । गीतकार तथा सङ्गीतकार दीपक शर्मासँग पनि निकटता भयो ।

दीपकले उनलाई एउटा गीत अफर गरे, जुन थियो ‘पिरम नलाउने’ अर्थात् ‘दाह्री फुल्यो बैँसैमा’ । आशिषको यो दोस्रो गीत हो । पहिलो गीत ‘फ्लप’ भएर चिन्तित उनी जे पर्ला–पर्ला भनेर ‘पिरम नलाउने’मा काम गर्ने निधो गरे ।

‘नराम्रो कमेन्टले मन विचलित थियो । दीपक दाइले गीत गर्ने भन्ने प्रस्ताव गर्दा आ…जे पर्ला–पर्ला । चलेन भने चलेन भन्ने सोचेँ ।’ उनलाई प्रस्ताव गर्नुअघि सो गीत अरू नाम चलेका पाँच जना गायकले गाउन अस्वीकार गरेका रहेछन् । सङ्गीतकार दीपकले सो प्रसङ्ग सुनाए पनि उनले हार मानेनन् । त्यसलाई एउटा अवसर र चुनौतीका रूपमा स्वीकारे ।

आशिषले ‘डमी’ पाएको एक महिनापछि गीत रेकर्ड गराए । गीतमा गायिका मेलिना राईले स्वर खापिन् । त्यसको १२–१५ दिनपछि भिडियो सुटिङ भयो । आफैँ नाच्ने मनसाय बनाएका आशिषको चर्चित नायिका वर्षा राउतसँग भेट भयो । उनले वर्षालाई स्क्रिनमा देखिरहेका थिए । यसैले नर्भस अनुभव गरिरहेका थिए ।

तर वर्षा सहयोगी निस्केपछि भने उनलाई काम गर्न कठिनाइ भएन । उनले गीतमा मजाले नै नाचे । टेक खानु नै परेन । सुटिङ सकियो ।

२०७५ असोज तेस्रो साता दसैँको वातावरणबीच गीत युटुबमा रिलिज भयो । आशिषमा एउटा बेग्लै खालको काैतुहल थियो । अगाडिको गीत राम्रो नभएका कारण उनी यस गीत पनि खासै राम्रो नहोला भनेर चिन्ता लिइरहेका थिए ।

तर गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख १४ हजारभन्दा धेरै भ्युज आकर्षित भए । खुसीले गदगद भएका उनलाई त्यो रात निद्रा परेन । सामाजिक सञ्जाल फेसबुक खोले र गीतको स्क्रिन–सट राखेर खुशी पोख्दै स्टाटस लेखे । सबैलाई धन्यवाद पनि दिए ।

गीतको भ्युज बढेसँगै उनमा खुसी निरन्तर बढ्न थाल्यो । प्रायः उनी युटुब चहारिरन्थे र भ्युज गनिरहन्थे । अघिल्लो गीतमा आएका जस्ता कमेन्ट छन् कि भनेर हेरिरहन्थे । सबैले राम्रो प्रतिक्रिया दिएका कारण उनी मख्ख थिए ।

‘पहिलो गीतमा सपोर्ट नपाएका कारण मेरो सपना कोमामा गइसकेको थियो । तर यस गीतले मेरो सपना पुनः ज्युँदो बनाइदियो । गीतले भ्युज बटुल्दै जाँदा मलाई त सपनाजस्तो लाग्न थाल्यो । गीत राम्रो बनेको छ भन्ने लागेको थियो । तर यति धेरै हिट हुन्छ भन्ने कल्पना थिएन,’ उनले सुनाए ।

आशिषले बुबालाई आफ्नो सिर्जना र सफलताको कथा सुनाउन पाएनन् । किनभने ‘पिरिम नलाउने’ गीत सार्वजनिक हुँदा उनका बुबा संसारबाट बिदा भएको पाँच वर्ष बितिसकेको थियो ।

गीत सुनेका स्रोताले गायक चिनेनन्

युटुबमा धेरैले मन पराएपछि उनले स्टेज कार्यक्रममा पनि यो गीत सुनाउने जमर्को गरे । एक सातापछि गायक हिमाल सागरको सहयोगमा उनी नुवाकोटको नर्सिङ गाउँको एउटा साङ्गीतिक कार्यक्रममा पुगे । त्यहाँ उनले यो गीत गाए । गीतमा दर्शकहरूले मनोरन्जन लिए । तर उनलाई गायक भनेर चिनेनन् ।

‘मैले त्यहाँ गीत गाउँदा धेरै दर्शकले साथ दिए । तर त्यो गीत गाउने वास्तविक गायक मै हुँ भनेर मान्छेले चिनेनन् । सायद उनीहरूले मलाई म्युजिक भिडियोमा अभिनय गर्ने मोडलमात्र सम्झिए,’ उनले भने ।

त्यसबीचमा उनलाई गायक हिमाल सागरको धेरै सहयोग रह्यो । उनकै सहयोगमा आशिषले युरोप भ्रमण गर्न पाए । देशका धेरै ठाउँमा स्टेज कार्यक्रम गरे ।

युटुबबाट राम्रो आम्दानी पनि

दिनानुदिन युटुबमा भ्युज बटुलिरहेको सो गीतका कारण पैसासँगसँगै आलोचना पनि उनको भागमा पर्‍यो । जबसम्म आशिषले तेस्रो, चौथो र पाँचौँ गीत निकालेनन्, तबसम्म समीक्षकहरूले उनको आलोचना गरिरहे । सो गीतलाई ‘कागे हिट’को संज्ञा पनि दिइयो ।

स्रोताहरूले उनको स्वर र गीत स्वीकार्दा पनि सङ्गीत क्षेत्रबाट उनलाई स्वीकार गरिएन । कतिले त पैसा खर्चेर गायक बनेको भन्दै ‘मुर्गा’को उपनाम पनि दिए । सङ्गीत क्षेत्रले आफूलाई नस्वीकारेको सम्झिँदै उनी भन्छन्, ‘दर्शक–स्रोताले स्वीकारेको भए पनि सङ्गीत क्षेत्रकै कतिपय मानिसहरू मेरो गायकीबाट खुसी भएनन् । मलाई यो क्षेत्रबाट पुनः पलायन हुने विचार आएको थियो । तर हिमाल दाइले सम्झाएपछि हार मानिनँ ।’

जब उनले तेस्रो गीत ‘एक कान दुई कान मैदान’ बोलको गीत सार्वजनिक गरे । त्यसपछि भने सङ्गीत क्षेत्रले आशिष ‘मुर्गा’ नभएर गायक नै हो भनेर स्वीकार्न थाल्यो । सङ्गीत क्षेत्रमा धमाधम ‘हिट’ गीत दिन थालेका आशिषले यसै क्षेत्रमा विभिन्न अवार्डहरू पाइसकेका छन् ।

यता, गीतको सफलतासँगसँगै युटुबबाट राम्रो आम्दानी पनि भयो । उनी आफैँले पाँच लाख खर्चेर सो गीत निर्माण गरेका थिए । उनका अरू सबै गीतभन्दा कम लगानी सो गीतमा थियो । तर आम्दानी भने सोचेभन्दा राम्रो भएको उनी सुनाउँछन् ।

ओएआर डिजिटलसँगको सहकार्यमा सार्वजनिक भएको सो गीतबाट उनले यो दुई वर्षबीचमा एक लाख दुई लाख गरेर २० लाख रुपैयाँ लिइसकेका छन् । हालै उनको सो गीतले ७० मिलियन भ्युज पार गरेको छ । यसबाट अझै आम्दानी बढ्ने निश्चित भएको छ ।

‘यति नै कमाइ हुन्छ भन्ने अवस्था छैन किनकि सरकारले ठोस नियम ल्याउन सकेको छैन,’ उनी भन्छन्, ‘जे होस् यहाँबाट लगानी रिटर्न भइरहेको छ । खुसी छु । अहिले सबैको साथ पाइरहेको छु । शुभेच्छुकसहित अग्रजहरूबाट राम्रै माया पाइरहेको छु ।’

परिवारबाट पनि उत्तिकै माया

आशिषले बुबालाई आफ्नो सिर्जना र सफलताको कथा सुनाउन पाएनन् । किनभने ‘पिरिम नलाउने’ गीत सार्वजनिक हुँदा उनका बुबा संसारबाट बिदा भएको पाँच वर्ष बितिसकेको थियो । आमा भने उनको सफलतामा ज्यादै खुसी छिन् । हुन त छोराको सफलतामा खुसी नहुने कुनचाहिँ आमा होलान् र !

‘पहिले मैले आमाको माया बुझ्न सकिनँ होला वा जे भयो भयो । तर अब भने आमा मबाट ज्यादै खुसी हुनुहुन्छ,’ उनले भने, ‘आमाको खुसीमा म पनि खुसी छु ।’