birat ribon

असङ्गठित जवानीको विघटित कहानी

Neuro
असङ्गठित जवानीको विघटित कहानी
भवानी बराल

नेपाली साहित्यिक पाठ्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको प्रसङ्ग आउँदा देवकोटालाई नचिन्ने विरलै होलान् भन्ने उल्लेख हुन्छ । त्यही स्तरमा त होइन तर स्थानीय क्षेत्रमा कर्मयोगी विश्वदेव पोखरेल अर्थात् ‘काकबाबा’लाई नचिन्ने विरलै होलान् । ‘बोइलर’ भाकामा भन्ने हो भने काकबाबा चल्तीका ‘सेलिब्रेटी’ हुन्, सामाजिक सञ्जालमा ‘भाइरल’ हुने सर्वथा योग्यपात्र ।

उमेरको हदबन्दी चार–कोरीको हाराहारीमा रहँदा पनि प्रत्येक दशक चर्चाको केन्द्रमै रहनु चानचुने कुरा होइन । काकबाबाको जिन्दगानीको उकालो–ओरालो देखि–जान्नेका लागि पनि र सुनि–जान्नेको लागि पनि चाखपूर्ण छ ।

cura insider

राजमार्गको फुटपाथमा :

तराईबाट कोसी राजमार्ग हुँदै चारकोसे जङ्गल छिचोलेर धरान पुग्न लाग्दा मुखैमा शनि मन्दिर देख्न सकिन्छ । पूर्वी पहाडबाट झर्दा धरान सहर छिचोलेपछि दक्षिण चारकोसेको मुखैमा सो मन्दिर छ । यो राजमार्गको त्यही ठाउँ कुनै समय ‘दुर्घटनाग्रस्त क्षेत्र’का रूपमा कुख्यात थियो । त्यहाँ केही हिन्दू धर्मतन्त्रका अनुयायीले आँखा प¥यो र उनले शनि मन्दिर स्थापना गरे ।
शनिवारको दिन शनि दशा भगाउन आराधना गर्ने गाडी धनी, व्यवसायी तथा श्रद्धालुको घुइँचो लाग्छ । राजमार्गको फुटपाथमा रहेको त्यही मन्दिरका प्रमुख ‘पण्डा’ हुन् काकबाबा उर्फ विश्वदेव पोखरेल ।

अखण्ड पुरुष :

काकबाबाको नामले परिचित पोखरेल, चरित्र र विशेषताले अखण्ड पुरुष हुन् । भर्नाकुलर नेपालीमा अखण्डको अर्थ नटुक्रिएको, अटुट, सिङ्गो, बाधा–विरोध नभएको भन्ने लाग्छ । कतिपय सन्दर्भमा उनको जिन्दगानीले यी विशेषता समेटेको पाइन्छ । उनलाई नजिकबाट चियाउँदा यस्तै लाग्छ । यी विभाजित नभएका सिङ्गा–सिङ्गै प्राणी हुन् । सुनि–जान्ने देखि–जान्नेहरूले यिनको किस्सा गरेर दिनभर मनोरञ्जन पाउन सक्छन् । यो उनको जिन्दगीको अलग पाटो हो ।

शनि ग्रह :

काकबाबाले शनिको उपासना गरेर धेरै हिउँद–बर्खा बितिसकेको छ । अरू अनुयायीहरूले शनिको उपासना गरेको पनि बर्षौँ बित्यो । तर शनिको खोजमा निस्कने, अथ्र्याउने फुर्सद कसको होला र ? यद्यपि शनि दशा र शनि–ग्रहको अन्तरसम्बन्धबाटै यसको जन्म भयो ।

सूर्य र सूर्यको वरिपरि घुम्ने सौर्य परिवारका आकाशीय पिण्डहरू सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु नौ ग्रह हुन्छन् । फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने नौ ग्रहमध्ये सातौँ ग्रह शनि हो । साताको आखिरी दिन सन्सरबार पनि यसैसङ्ग सम्बन्धित मानिन्छ । शनि ग्रहको दृष्टि प¥यो भने अनेकन आपत् आइलाग्ने तान्त्रिक मान्यता छ । यस्तै शनि दशा हटाउन शनिको उपासना गरिन्छ । त्यही उपासना गर्ने स्थान शनि मन्दिर हो ।

हिन्दु धर्मतन्त्रमा शनि उत्पात ग्रह हो । शनि–ग्रहको शनिबारसँग के सम्बन्ध छ ? धर्म तान्त्रिकहरूले व्याख्या गर्ने कुरा हो । तर आधुनिक युगमा पनि शनि त्यत्तिकै आतङ्कपूर्ण छ । चलनचल्तीको भाकामा शनि–ग्रह लागेको त्यत्तिकै चर्को हुन्छ, जति असाध्य रोग लागेको होस् । शनि–दृष्टि यस्तै डरलाग्दो शब्द हो । शनि–दृष्टि प¥यो भने अमङ्गल गर्ने दृष्टि या कुदृष्टि पर्छ पूरै बिच्छुकी हुन्छ भन्ने तान्त्रिक सार हो ।

जीवनको पाटो :

काकबाबा ८० वर्ष लाग्दै छन् । तर शनि दशा आफ्नै जीवनमा कुँडुलेर अरूका उद्धारकर्ता भएका छन् ।

तत्कालीन समयमा धरान सहरमा थुप्रै बाहुन पण्डितहरू थिए । त्यसमध्ये पण्डित शालिग्राम पोखरेलका अनगिन्ती सन्तानमध्ये एक अहिलेका काकबाबा हुन् । हरिद्वारमा दीक्षित काकबाबाले मेट्रिकसम्मको पढाइ गरे । पिण्डेश्वर विद्यापीठको निर्माणमा सुपरभाइजरबाट खाइजीविका गरेका यिनको जन्म धरानको ऐतिहासिकस्थल विजयपुरमा भयो ।

जीवन निर्वाहका क्रममा उनले नेपाल प्रहरीमा सेवा गरे । २०१८ सालमा अराष्ट्रिय तत्व (अत)को खोजी गर्ने सुलसुले (आजको भाषामा राष्ट्रिय अनुसन्धान)को भूमिकामा काम गरे । कति अत (काङ्ग्रेसी/कम्युनिस्ट)लाई यिनले जेलको हावा खान बाध्य बनाए ? त्यसको लेखाजोखा छैन । तर यसै कामको कदर स्वरूप २०२३ सालमा नेपाल प्रहरीमा भर्ती पाए ।

प्रहरीको भूमिकामा उनी धेरै दिन टिकेनन् । उनले प्रहरी सेवाबाट अवकास पाउनुमा रमाइलो किस्सा छ । भोजपुरमा कार्यरत रहँदा उनी भोजपुरमा खुबै नाम चलेका नरोत्तम राई (गायक÷गीतकार÷सङ्गीतकार गणेश रसिकका बाबु, जसको राजा महेन्द्रसँग राम्रो सम्बन्ध थियो भनिन्छ)को चिहान खोतलेर, खोपडी निकालेर अघोर साधनामा लिन भएछन् ।

यस्तो उपद्रो गरेबापत उनलाई पक्रेर हिरासतमा राखियो । हिरासतमै उनले अघोर तान्त्रिक साधना सुरु गरे । उनको त्यो साधनाबाट अत्तालिएका भोजपुरका तत्कालीन सिडिओ नन्दकुमार कार्कीले काकबाबालाई अवकास दिँदै अरूण नदी कटाउन लगाएछन् ।

फुक्काफाल काक :

प्रहरीको जागीर गएपछि काकबाबा फुक्काफाल भए । धरान नगरको एक कुनामा रहेको खत्रीधारा नामक मसान घाटमा अघोर साधनामा लिन हुन थाले ।

उनको सन्दर्भमा लाससँग अनेक ‘क्रिडा’ गर्ने गरेको काल्पनिक प्रसङ्गहरू छन । यस्तो त्यस्तो अनेक क्रिडा गर्ने, अभक्ष खाने काकबाबाको प्रसिद्धि त्यसै बखतबाट सुरु भयो । उनको दर्शन गर्नेको ताँती लाग्न थाल्यो ।

पानी आन्दोलन र भोक हड्ताल :

काकबाबाको यात्रा अघोरपन्थको साधनामा मात्र सीमित भएन । त्यसबखत पनि धरानमा पानीको हाहाकार थियो, जस्तो कि अहिले पनि छ । काकाकुल भएको सहरमा मुख्य खानेपानीसहित २५ सूत्रीय माग राखी उनले तत्कालीन धरान नगरपञ्चायत कार्यालयको सिकुवामा भोक हड्ताल सुरु गरे ।

त्यस समयमा कम्युनिस्ट पार्टीका तर्फबाट विजय भएका गोविन्द मोक्तान जनपक्षीय प्रधानपञ्च थिए । मोक्तानले उनको मागलाई सिफारिस गर्ने सहमति गरे । पञ्चायतको अधिकार क्षेत्रभित्र नपरेका कतिपय मागलाई सरकारसमक्ष सिफारिस गरिदिने सर्तमा काकले भोक हड्ताल समापन गरे ।

धरान नगरपञ्चायतबाट खानेपानीको सर्वसुलभताका लागि सिफारिससहितको माग–पत्र लिएर उनी सिंहदरबार गए । उनको यो यात्रा र काठमाडौँको बन्दोबस्त धरानबाटै प्रतिनिधित्व गर्ने राष्ट्रिय पञ्चायत सदस्य सूर्यप्रसाद उपाध्यायले गरिदिएका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई स्मरण–पत्र बुझाए । तर सिंहदरबारले पनि उनको मागको सुनुवाइ गर्न चासो देखाएन । त्यसबाट निराश भएका उनले सिंहदरबारको पटाङ्गिनीमा पुनः भोक हड्ताल सुरु गरे ।

भोक हड्ताल गरिरहेकै बेला आधारातमै उनलाई प्रहरीले झ्यानाकुल्टुङ पार्दै हनुमान–ढोका हिरासतमा लगे । त्यहाँ उनलाई पानी माग्नेलाई पानीमै डुबाउनुपर्छ भन्दै जाडो महिनामा ड्रमको पानीमा डुबाए । जाडोले अधमरो भएपछि चार–भन्ज्याङ कटाएर छोडिदिए । तत्कालीन प्रधानमन्त्री रिजालको आदेशमा यी सब भएका थिए ।

काकबाबाको सन्दर्भमा उनले लाससँग अनेक ‘क्रिडा’ गर्ने गरेका प्रसङ्गहरू छन ।

– उनको तान्त्रिक साधनाबाट अत्तालिएका भोजपुरका तत्कालीन सिडिओ नन्दकुमार कार्कीले काकबाबालाई अवकास दिँदै अरूण नदी कटाउन लगाएछन् ।

– गजबको कुरो चाहिँ के छ भने खुट्टाको बुढी औँलामाथि छेउको अर्को औँला चढाएका छन् । यसमा उनको साङ्केतिक अर्थ छ– ठूला–बडालाई सानाले शासन गर्नुपर्छ ।

दैनिक जीवनमा काक :

खालीखुट्टा विरगन्ज छोडिएका काक सिंहदरबारको असफल भोक हड्तालपछि पुनः धरान आइपुगे । काकको यस्तै हर्कतबाट आजित तत्कालीन कोसी अञ्चल मोटर सिन्डिकेटका अध्यक्ष जगदीश नेपालीले उनलाई टाइपिस्ट क्लर्कमा नियुक्त गरे । त्यसबखत पनि उनले काकपथीय शास्त्रीय तन्त्रलाई निरन्तरता दिँदै रहे । यो २०३५ सालतिरको घटना हो । सिन्डिकेटमा कार्यरत रहँदाका बखत पनि उनका अनेक किस्सा प्रचल्ती छन् ।

त्यसबखत धरान–धनकुटा मोटरबाटो बेलायत सरकारको सहयोग नियोग इरोम परियोजनामार्फत निर्माण हुँदै थियो । धनकुटाको मुलघाटस्थित तमोर नदीमा आयोजनाले अस्थायी पुल हालेको थियो ।

त्यही अस्थायी पुलबाट गाडी तार्न इरोमलाई सिफारिस निवेदन टाइप गर्दा काकबाबाले जताततै ‘काक’ शब्द घुसाएछन् । अध्यक्ष नेपालीको नामअगाडि काक थपेर ‘काक अध्यक्ष जगदीश नेपाली’ लेखिदिएछन् । यस्तो देखेपछि रिसले चुर हुँदै नेपालीले काकबाबालाई त्यही दिन जागिर गएको सूचना दिएछन् ।

जागिर गएको झोंकमा राति अध्यक्ष नेपालीको विजयपुरस्थित टिनको छानो भएको घरमाथि चढेर ‘काग काग’ भन्दै कराउन थालेछन् । पूरै होहल्ला भएपछि र कुनै सुरतमा पनि काकबाबा छानाबाट झर्न नमानेपछि उनलाई पुनः जागिर थमौती गर्ने सहमति भएछ । छानाबाट ओर्लेर उनी सीधै कार्यालय गए । यो हो–हल्ला मध्यरातमा सुरु भएर बिहान हुँदासम्म चलेको थियो । यसरी पुनः ड्युटी सुरु भएपछि उनले लामो समयसम्म त्यही सिन्डिकेटमा काम गरे ।

राजनीतिमा काक

जनमत सङ्ग्रहताका काक निर्दल वा बहुदल कतापट्टि थिए त्यति नखुले पनि त्यसयताको चुनावी राजनीति भने यिनले चाखेका छन् । पञ्चायती व्यवस्थाको अन्तिम स्थानीय चुनाउमा यिनले धरान नगर पञ्चायतको प्रधान–पञ्चमा उम्मेदवारी दिए ।

अहिलेको जस्तो पार्टीगत चुनाउ चिनो त्यतिखेर हुन्न थियो । त्यस बखतका अन्य प्रतिस्पर्धी उम्मेदवारको चिनो हलो, कोदालो, छाता, घर, घडी, मादल यस्तै निर्जिव वस्तुहरूको प्रतीक चिनो थिए । चुनाउ प्रचारको क्रममा उनी यस्ता निर्जीव वस्तुको पछि जीवित मान्छेहरू लाग्नुहुन्न भन्थे । उनको चुनाउ चिनो ‘मान्छे’ थियो ।

मान्छेले मान्छे चिनौँ

‘मान्छे भएपछि मान्छेलाई चिनेर मान्छेहरूले मान्छेमा भोट हालौँ’ उनको चुनावी नारा थियो । खाली खुट्टा हिँड्दै टिनलाई काटेर बनाएको माइकमार्फत टोलटोलमा प्रवचन दिँदै हिँड्थे । चुनाउ प्रचारताकाको घतलाग्दा प्रसङ्ग त्यतिकै छन् ।

त्यसबखत कम्युनिस्ट पार्टी (नेकपा मालेसहितको वाम–मोर्चा)ले बम देवानलाई निर्वाचनमा उठाएर जितायो । काकबाबा पराजित भए । मान्छे भएपछि मान्छेहरूले मान्छेलाई भोट हालौँ भन्ने उनको लोकप्रिय नाराले नराम्रो हावा खायो । उनी त मान्छेको जङ्गलमा वनमान्छे ठहरिए होलान् र भोट हालेनन्, जस्तो कि अहिले उनी छन् ।

बहुदलीय व्यवस्थाको पुनस्थापनापछि यिनी काङ्ग्रेसमा लागे । उतिबेलाका अराष्ट्रिय तत्व (काङ्ग्रेस)लाई सिध्याउन खेल खेलेका काकबाबाको काङ्ग्रेस आरोहण नौलो कुरा त भएन । नेपालको राजनीतिमा प्रायः यस्तो हुनुलाई संयोगमात्र मान्नुपर्छ । कुनै प्रायश्चितविना नेपालको राजनीतिक पार्टीमा जो कोहीलाई जुनसुकै बेला जाने सुविधा नेपालमा छ । तर केही वर्षपछि काकबाबाले काङ्ग्रेसलाई पनि अँगालो मार्न छोडिदिए ।

दृश्य सम्भोगमा काक

यिनी खालीखुट्टा बस्छन् । खराउसम्म पनि लगाउँदैनन । यो पन्थमा लागेदेखि अन्य प्रकारका जुत्ता–चप्पल लगाउने त कुरै भएन । गजबको कुरो चाहिँ के छ भने खुट्टाको बुढी औँलामाथि छेउको अर्को औँला चढाएका छन् । यसमा उनको साङ्केतिक अर्थ छ– ठूला–बडालाई सानाले शासन गर्नुपर्छ ।

हिन्दु धर्मको तान्त्रिक पद्धतिअनुसार मद्य (जाँड–रक्सी), मास (मासु), मत्स्य (माछा), मुद्रा (मुख, हाउभाउ), मैथुन (समागम) यी पाँच प्रकारका साधनद्वारा शक्तिको उपासना गर्ने सम्प्रदायलाई वामाचार भनिन्छ । यिनले वामाचार पद्धतिबाट पनि उपासना गरिसकेको भेउ पाइन्छ । सम्भोग (सेक्स) भरसक मानव समुदायले लुकाएर गर्छ । तर यिनले दृश्य सम्भोग गरेर रमिता देखाएको किस्सा पनि प्रचलित छ ।

वाममार्ग तन्त्र–मन्त्र, अभिचार आदि कामसँगै मद्य, मास आदिको सेवन गर्ने विधान भएको धार्मिक पथ हो । यो धार्मिक पथको पनि उनी उपासक हुन् ।

सन्तान उत्पादनका धनी

भारतीय नेता लालु यादव विपक्षमा रहँदा भारतमा परिवार नियोजनको कार्यक्रम सरकारले ल्यायो । भनिन्छ विपक्षको धर्म पूरा गर्न, परिवार नियोजनको कार्यक्रम विफल बनाउनकै लागि उनले सन्तान उत्पादन कर्मलाई व्यवहारमा अपनाए । सुरमा आफैँमा लागू गरे । उनका नौ सन्तान छन् । त्यही स्तरमा काकबाबाको सोच पुग्यो होला नहोला, तर उनका पनि यादवका भन्दा कम सन्तान छैनन् । यिनका सन्तानले डाँडाकाँडा ढाके पनि अहिले यिनी एक्लै छन् । चारकोसे जङ्गलको मुखमा दिनचर्या जय मङ्गल गर्छन् ।

काकको अर्थ

उनी ठूलोठूलो स्वरमा ‘का’ उच्चारण गर्दै हिँड्छन् । उनका अनुसार ‘का’ एकाक्षरी शब्द हो । उनलाई नजिकबाट चिन्नेहरू ‘काकबाबा’ भन्छन् । अलि परबाट परख गर्नेहरू ‘कागबाबा’ वा ‘शनिबाबा’ पनि भन्छन् । भनिन्छ यस्तो उपासकहरू दक्षिण भारतमा पनि छन् । उनी नमस्ते, सेवा, अभिवादन भन्दा भेटघाटमा ‘काक’ शब्द उच्चारण गरेको निको ठान्छन् ।

आधुनिक राज्य वा सरकारको वाहन (साधन) जल, थल, वायु सेना र यन्त्र भएजस्तै शनिका पनि नौवटा जल, थल र वायु वाहन थिए भनिन्छ । यसमध्ये काग शनिको वायु वाहन हो । शनिकै वायुवाहन काग वा कौवा भएकाले हिन्धु धर्मतन्त्रमा पुजिन्छ ।

यिनी ‘क’ वा ‘का’ एकाक्षरीबाट सुरु हुने खाद्यान्न ग्रहण गर्दैनन । केरा, काँक्रो, करेला, कटहर, काजु, किसमिस, कन्दमुल यिनका लागि वर्जित खानेकुरा हुन् ।

कालो कपडा, कालै थोपडा

अघोर शब्दको अर्थ हो, ज्यादै डरलाग्दो । अघोर–मतालम्बीहरूको सम्प्रदाय, अघोर सम्प्रदाय हो । यो गुरु गोरखनाथले जागृत गरेको समुदाय हो ।

सनातनी धर्मतन्त्रमा साधनाका दुई मार्ग छन् । एउटा वाममार्ग र अर्को दक्षिणमार्ग । वाममार्ग अघोरमार्ग हो । जहाँबाट सबै कुरा खत्तम हुन्छ, त्यहीँबाट अघोरमार्ग सुरु हुन्छ । संसारको अन्तिम निवास मसानघाट हो । यसर्थ यिनको साधनाको पाठशाला पनि त्यही हो ।

अघोरपन्थी भएकैले हो, वस्त्र पनि यिनको कालै छ । संयोग मान्नुपर्छ यिनको थोपडा (अनुहार) पनि कालै छ । यही कालो वस्त्र र वर्ण देखाएर काकबाबाले शनिको शक्तिलाई सन्तुलन गरेको भक्तहरूमा विश्वास छ ।

रहलपहल

हिन्दु धर्मको वर्णाश्रम व्यवस्थाअनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रम्हचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आदि चार आश्रम हुन् । तर चारै आश्रममा यिनको विचरण घालमेल छ । अघिल्ला दुई आश्रमभन्दा पनि वानप्रस्थ र सन्यासमा यिनको यात्रा रुचिकर छ । यिनले अपूर्वी (बिफर)जस्तो महामारी शरीर खेपे, अहिले कोरोनाको कहर हेर्दै छन् ।

जे होस्, काकबाबा उर्फ विश्वदेव पोखरेलले पूर्वको नामुद चारकोसे जङ्गल गुल्जार गरेर शनि दशाको मनोवैज्ञानिक तथा धार्मिक उपचार गरिहेका छन् । तर यसैमा पनि धरानका केही सुकिला–मुकिलाको आँखी परेको छ । उनीहरूले कानुनको डन्डा लगाएर काकबाबालाई तर्साइरहेका छन् ।
वानप्रस्थको बाटो एको¥याइसकेको वृद्ध अघोरीलाई खेदो खन्नु कुनै निको चाला होइन । अरू ‘युटुबे अघोरी’जस्तो यी हल्का–फुल्का मनुवा होइनन् । यिनसँग कुरा गर्दामात्र पनि जिन्दगीको नागबेली थाहा हुन्छ ।

[email protected]

jackson ribon