Rumpum Advertisement

फाइजरको खोपका पक्षमा ट्रम्प र ह्वाइट हाउस

फाइजरको खोपका पक्षमा ट्रम्प र ह्वाइट हाउस

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासन फाइजर–बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपका पक्षमा देखिएका छन् ।

कोरोना भाइरस महामारीले विश्वलाई तहसनहस बनाइरहँदा ट्रम्पले भने कोरोनालाई सामान्य रुपमा लिएका थिए । उनले कोरोना केही नभएकोभन्दै मास्क लगाउन र कुनै पनि सावधानी अपनाउन आवश्यक नभएको प्रतिक्रिया दिँदै आएका थिए । नोभेम्बर ३ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा उनको पराजयलाई कोरोना नियन्त्रणमा उदासिन भएको प्रशंगसँग जोडेर हेर्न थालिएको छ ।

तर पछिल्लो समय ट्रम्प कोरोनाविरुद्ध बनेको फाइजर–बायोएनटेकको खोपको पक्षमा देखिएका हुन् । ह्वाइट हाउसले पनि यही खोपलाई समर्थन गरेको छ । ट्रम्प र उनको प्रशासनले जतिसक्दो चाँडो फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए) लाई
कोरोना भाइरसविरुद्ध फाइजरले बनाएको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गर्न दबाब दिएका छन् ।

ह्वाइट हाउसले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गर्द दबाब दिन थालेको हो । अहिलेसम्म कोरोनाविरुद्ध बनेकामध्ये यही खोप अलि बढी प्रभावकारी मानिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

एफडिएका प्रमुख स्टिफन हानलाई शुक्रबार भित्रै खोपलाई स्वीकृति प्रदान गर्न वा राजीनामा दिन ह्वाइट हाउसले दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् । तर हानले भने सो कुरा स्वीकार गरेका छैनन् । बिहीबार भएको बैठकमा विज्ञहरुले फाइजरको खोपलाई स्वीकृति दिन मिल्ने बताएपछि सबैको ध्यान एफडिएमा केन्द्रित भएको छ ।

फाइजरको खोप हालसम्म बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा स्वीकृत भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा बढी छ । अमेरिकामा हालसम्म तीन लाख दुई हजार एक सय ८५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । सङ्क्रमितको संख्या एक करोड ६२ लाख ३६ हजार सात सय ७८ पुगेको छ ।

एफडिएलाई स्वास्थ्य सम्बन्धी सल्लाह प्रदान गर्ने विज्ञहरुको बैठकले खोप स्वीकृति प्रदान गर्नु उपयुक्त हुने बताएका थिए । एफडिएले स्वीकृति प्रदान गर्नका लागि आश्वयक अरु काम भइरहेको बताएको छ । तर राष्ट्रपति ट्रम्पले शुक्रबार आक्रोशित ट्वीट गरेर खोपलाई तत्काल स्वीकृति प्रदान गर्न र जीवन रक्षामा लाग्न भनेका थिए ।

द वासिङ्गटन पोस्टले विभिन्न स्रोतलाई हवला दिँदै ह्वाइट हाउस चिफ अफ स्टाफ मार्क म्याडोजले एफडिएका प्रमुख हानलाई शुक्रबारभित्र खोपलाई स्वीकृति प्रदान गर्न वा राजीनामा दिन आदेश दिएको उल्लेख गरेको छ ।