Rumpum Advertisement

नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा एकपछि अर्को असफलता

नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा एकपछि अर्को असफलता

विराटनगर । अमेरिकाको राष्ट्रपति निर्वाचनमा पराजित भएका डोनाल्ड ट्रम्पले चुनावी नतिजा उल्टाउन गरिरहेको प्रयास एकपछि अर्को गर्दै असफल भइरहेका छन् ।

उनले पटकपटक गरेको प्रयासलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिसकेको छ । तर पनि उनी निर्वाचनको नतिजा उल्टाउन अन्तिम कसरत गरिरहेका छन् । आफू पराजित भएको स्वीकार गर्न नमानिरहेका उनले निर्वाचन उल्टाउने प्रयास भने गर्न छाडेका छैनन् ।

ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको पछिल्लो मुद्दा सर्वोच्च अदालतले खारेज गरेपछि उनलाई ठूलो धक्का लागेको छ । प्रयासरत उनले मुद्दा दायर गर्ने र अदालतले खारेज गर्ने क्रम चलिरहेको छ ।

टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार ब्याटलग्राउण्ड राज्यहरु जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध गर्न माग गरी सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले स्थानीय समय अनुसार शुक्रबार बेलुका सो मुद्दामा फैसला दिएको हो । सर्वोच्च अदालतले संक्षिप्त आदेशमा मुद्दा खारेज गर्दै त्यसको कुनै औचित्य नभएको जानकारी दिइसकेको छ ।

मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानुनी अधिकार नरहेको बताएपछि ट्रम्प र उनका समर्थक निराश बनेका छन् । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउन कानुनी आधार छैन ।’

निर्वाचनमा पराजय बेहोरे पनि उनले हार स्वीकार गरिरहेका छैनन् । यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज गरेको थियो ।

अमेरिकी सर्वोच्च अदालतमा हाल कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत छ । ट्रम्पले लगातार बिना कुनै प्रमाण र निर्वाचन सुरक्षा तथा अनुगमन अधिकारीको प्रमाणयुक्त भनाई विपरीत चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।