विराटनगर । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्ममा १६ लाख नजिक पुगेको छ ।
भाइरस महामारी सुरु भएयता दिन प्रतिदिन मृत्यु हुने सङ्क्रमितको संख्या बढिरहेको छ । केही समय यता दैनिक सात हजार बढीको मृत्यु भइरहेको वाल्डो मिटरले जनाएको छ । विशेष गरेर स्वास्थ्य सम्बन्धी पुराना विभिन्न समस्या भएका सङ्क्रमितको मृत्यु दर बढी छ । त्यसबाहेक ज्यान गुमाउनेमा वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु धेरै रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय ९३ जना सङ्क्रमितको ज्यान गएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ लाख ९९ हजार छ सय ६१ पुगेको हो । हालसम्म विश्वमा सङ्क्रमितको संख्या सात करोड १३ लाख ५१ हजार दुई सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये चार करोड ९५ लाख १३ हजार सात सय ९९ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । विश्वमा हाल दुई करोड दुई लाख ३७ हजार आठ सय १० जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख छ हजार पाँच सय ८७ जनाको अवस्था चिन्ताजनक छ ।
विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा मात्रै हालसम्म ज्यान गुमाउने सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । पछिल्लो २४ घण्टाभित्र दुई हजार चार सय ४७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या तीन लाख दुई हजार एक सय ८५ पुगेको छ । अमेरिकामा केही समययता दैनिक दुई हजार बढी सङ्क्रमितले मृत्युवरण गरिरहेका छन् ।
एकै दिन एक लाख ८७ हजार आठ सय ५० नयाँ बिरामी थपिएपछि अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ६२ लाख ३६ हजार सात सय ७८ पुगेको छ । सङ्क्रमितमध्ये ९४ लाख पाँच हजार ५५ जना उपचारपछि निको भएका छन् । ६५ लाख २९ हजार पाँच सय ३८ जना उपचाररत रहेकोमा २७ हजार तीन सय ३५ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारतमा हालसम्म ज्यान गुमाउने सङ्क्रमितको संख्या एक लाख ४२ हजार छ सय १८ पुगेको छ । ९८ लाख २६ हजार ३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन २९ हजार ३९ नयाँ बिरामी थपिए । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा छ ।
सङ्क्रमितमध्ये ९३ लाख २१ हजार दुई सय ४९ जनाको उपचार सफल भएको छ । सफल उपचार भएकाहरु निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किएका छन् । तीन लाख ६२ हजार एक सय ६४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटरले जनाएको छ ।
ब्राजिलमा एकै दिन छ सय ५२ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको संख्या एक लाख ८० हजार चार सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२ हजार सात सय ७० जना नयाँ बिरामी थपिएपछि ६८ लाख ३६ हजार तीन सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा रहेको मुलुुक हो ।
सङ्क्रमितमध्ये ५९ लाख ५४ हजार सात सय ४५ जनाको उपचार सम्भव भएको । उपचार सम्भव भएकाहरु निको भएपछि सामान्य जीवनमा फर्किएका छन् । सात लाख एक हजार एक सय १५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।