Rumpum Advertisement

कोरोनाका कारण बढ्यो हिंसाका घटना

Neuro
कोरोनाका कारण बढ्यो हिंसाका घटना

काठमाडौं/ कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरू बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरूले बताएका छन् ।

मानव अधिकारसम्बन्धी ऐन नियमहरूको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरूमा न्यूनीकरण हुनसक्ने उनीहरूको भनाइ छ । कोरोना भाइरसको महामारीपछि मानव अधिकार उल्लंघनका घटनामा बढेका छन् ।

गत वर्षको चैत महिनामा लकडाउन सुरु भएयता कार्तिक मसान्तसम्म सुदूरपश्चिममा २ सय ७६ जनाले आत्महत्या गरेका छन् भने १ सय ६० बलात्कारका घटना भएका छन् । यस्तै ५८ बलात्कार प्रयास, १६ लैङ्गिक हिंसा र सबैभन्दा धेरै ५ सय २५ घरेलु हिंसाका घटना सार्वजनिक भएका छन् ।

मानव अधिकारकर्मी चित्रा पनेरुले यो अवधिमा अन्य समयमा भन्दा हिंसाका घटना बढेको बताए । नसिक असरले यो अवधिमा सयौं जनाले आत्महत्यासमेत गरेका छन् ।

त्यति मात्रै नभएर अवधिमा आर्थिक, सामाजिक, साँस्कृतिक अधिंकारको समेत हनन् भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । कोरोनाले रोजगारीका अवसर गुम्दा खान र बाँच्न पाउने अधिकारको समेत हनन् भएको आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहनराज जोशीले बताए ।

सरोकारवालाहरुबीच समन्व नहुँदा पनि मानव अधिकार हनन्का घटना बढेको अनौपचारीक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका प्रमुख खडकराज जोशीले बताए । मानव अधिकारसम्बन्धी कानूनहरूको कार्यान्वयन भएमा हिंसा हत्याका घटनाहरूमा न्यूनीकरण हुन सक्ने बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले सबैखाले विभेदको अन्त्य गरी मानव अधिकारलाई प्राथमिकतामा राखेकोले त्यसलाई कार्यान्वयन गरेर नागरिकलाई प्रत्याभूत गराउन सरकारसँगै सामाजिक अभियन्ता सबैको दायित्व भएको बताए ।

कोरोनाका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारी र कामदारले सुदूरपश्चिममा रोजगारी गुमाएका छन् । कोरोना कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा १५ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ । महामारीकै कारण बालविकास देखि १२ कक्षासम्मका ७ लाख ९८ हजार ९ सय २५ विद्यार्थी पठनपाठनको अधिकारबाट बञ्चित भएका छन् ।