Rumpum Advertisement

दुर्घटनामा परेका युवाको साथमा लागुऔषध भेटिएपछि…

दुर्घटनामा परेका युवाको साथमा लागुऔषध भेटिएपछि…

विराटनगर / पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भयो । पश्चिमतर्फ गइरहेको बा ५१ प १४२१ को मोटरसाइकल र को २ त ५२९० नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएपछि मोटरसाइकलमा सवार दुई जना युवा घाइते भए ।

घाइतेहरू थिए मोटरसाइकल चालक चितवनको भरतपुर उपमहानगरपालिका–१२ का ३१ वर्षीय पदम लिम्बू र पछाडि सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का २७ वर्षीय रामोस पौडेल ।

दुर्घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक ऋषिराज ढकालको नेतृत्वमा प्रहरी पुग्यो । प्रहरी टोलीले दुवै घाइतेलाई उद्धार गर्दै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्यो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लियो । घटना गत बुधबार दिउँसोको हो ।

दुर्घटनामा घाइते भएका युवामध्ये रामोसले पछाडि झोला भिरेका थिए । शंका लागेपछि प्रहरीले झोला नियन्त्रणमा लिएर खानतलासी गर्‍यो । त्यसक्रममा उक्त झोलाभित्र एक सय ५० एम्पुल लागुऔषध फेला पर्‍यो ।

सवारी दुर्घटनामा परेर घाइते भएकाले साथमा बोकेको झोलामा लागुऔषध फेला परेपछि उपचाररत दुवै जनामाथि प्रहरीले निगरानी बढायो । उपचार ठीक भएको भन्दै प्रतिष्ठानले डिस्चार्ज दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेर कारवाही अघि बढाएको छ ।

प्रहरी निरीक्षक ढकालका अनुसार उपचार सकिएर डिस्चार्ज हुनेबित्तिकै नियन्त्रणमा लिएर दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको छ ।

‘दुर्घटनाका घाइतेहरूलाई तत्काल उपचारका लागि धरान लगियो,’ उनले भने, ‘त्यसैक्रममा रामोसले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको हो ।’ उनका अनुसार डाइजेपाम ५०, लुपिजेसिक ५०, एबोट ३० र एभिल २० गरेर एक सय ५० एम्पुल लागुऔषध बरामद भएको छ ।

ढकालका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना लागुऔषधका सेवनकर्ता भएको खुलेको छ । ‘दुर्घटनामा घाइते भएकाहरू लागुऔषधको दुर्व्यसनमा फसेका युवाहरू भएको पाइयो,’ उनले भने, ‘उनीहरू यसको कारोबार पनि गर्थे कि भन्ने आशंका रहेका कारण अनुसन्धानको दायरामा फराकिलो पारेर लगिएको छ ।’

प्रहरीका अनुसार बरामद भएको लागुऔषधको परिणाम ठूलै हो । यति धेरै परिणाममा लागुऔषध भेटिएपछि प्रहरीले उनीहरू कारोबारमा पनि संलग्न भएको हुनसक्ने आशंका गरेको छ । सेवनकर्ता मात्रै कि कारोवारी पनि हुन् भन्नेबारेमा अनुसन्धानपछि मात्रै यकिन गर्न सकिने ढकालले बताए ।

प्रहरीका अनुसार कोही व्यक्तिसँग यति धेरै लागुऔषध भेटिँदा त्यो कारोवारकै लागि लगिएको हुनसक्छ । पक्राउ परेका युवाहरूले भने झापाको बिर्तामोडबाट लागुऔषध खरिद गरेर ल्याएको प्रहरीलाई बताएका छन् । तर उनीहरूले लागुऔषध उपलब्ध गराउनेको नाम र कति रुपैयाँमा खरिद गरेको हो भनेर खुलाइनसकेको प्रहरीले जनाएको छ ।

‘सोधपुछ गर्दा नचिनेको व्यक्तिबाट आफूहरूले खरिद गरेर सेवनका लागि ल्याएको बताएका छन्,’ ढकालले भने, ‘तर घटना अनुसन्धानकै क्रममा रहेका कारण धेरै कुरा र वास्तविकता खुल्न बाँकी छ ।’

लागुऔषध खरिदसँगै सेवन पनि गरेर उनीहरू बिर्तामोडबाट फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । ‘लागुऔषधको नशामा मोटरसाइकल चलाएर उनीहरू बिर्तामोडबाट गन्तव्यतर्फ फर्कँदै रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैक्रममा नियन्त्रण गुमाएका कारण ट्याक्टरमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेपछि घाइतेले बोकेको झोला खानलासी गर्ने क्रममा लागुऔषध फेला परेको हो ।’

चालक लागुऔषधकै नशामा रहेका कारण राम्ररी चलाउन नसक्दा र एक्कासि नियन्त्रण गुमाउँदा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । इन्सपेक्टर ढकालले लागुऔषधको ओसारपसार र कारोवार प्रतिबन्धित रहेका कारण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘यसको कारोवार र ओसारपसार हुनसक्ने सम्भावित स्थानलाई उच्च निगरानीमा राखेर कारवाही अघि बढाइएको छ,’ उनले भने, ‘सवारी साधनमा पनि ओसारपसार हुने गरेको पाइएपछि राजमार्गमा सवारी चेकजाँचलाई तीव्र पारिएको छ ।’