Rumpum Advertisement

‘राज्य व्यवस्था समितिको निर्देशनविपरीत एआइजी बढुवा’

‘राज्य व्यवस्था समितिको निर्देशनविपरीत एआइजी बढुवा’

काठमाडौं/ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छन् ।

समितिले दिएको निर्देशनविपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी हुन् ।

सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरू पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने बताइन् ।

पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि समितिले दिएका निर्देशनहरू सरकारले पालना गरेको–नगरेको भन्ने सम्बन्धमा समिति आफैँले कार्यप्रगति मूल्याङ्कन गरी संसद्समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताए ।

तर सरकारले कुनै निर्देशनहरू कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधानअनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसद्मा छलफल गराउन नसक्दा समितिका निर्देशनहरूलाई सरकारले बेवास्ता गरिरहेको बताए ।

यस्तै कुनैपनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताए ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वयन गर्न समितिले निर्देशन दिएको थियो ।