Rumpum Advertisement

समयमा उपचार नभए डाइबेटिक रेटिनोपेथीले अन्धोपना निम्त्याउँछ

Neuro
समयमा उपचार नभए डाइबेटिक रेटिनोपेथीले अन्धोपना निम्त्याउँछ

विराटनगर/मधुमेहका बिरामीमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिने सम्भावना रहन्छ । मधुमेह भएका बिरामीका शरीरका विभिन्न अङ्गमा समस्या हुने जोखिम उच्च हुन्छ, त्यसैगरी यसले आँखामा पनि आक्रमण गर्न सक्छ ।

आँखा विशेषज्ञहरूका अनुसार मधुमेह भएकामा सबैभन्दा धेरै जोखिम आँखामा पनि हुने गर्छ । यो रोग लागेमा आँखामा नराम्रो असर पर्ने हुन्छ । समयमै पहिचान गरी उपचार नगरेमा यो रोगले मानिसलाई अन्धो पनि बनाउन सक्छ ।

मधुमेहका कारण आँखामा हुने समस्या डाइबेटिक रेटिनोपेथी, दृष्टिविहीन गराउने कारणमध्ये पनि एक हो । विश्व जनसङ्ख्याको ४६ करोड ३० लाखभन्दा बढी जनसङ्ख्यामा मधुमेहको समस्या छ ।

एक तिहाइभन्दा बढी व्यक्तिलाई डाइबेटिक रेटिनोपेथी छ र डाइबेटिक रेटिनोपेथी भएका एक तिहाइभन्दा बढी बिरामीलाई तुरुन्त आँखा उपचारको आवश्यक हुने गर्छ । आँखा विशेषज्ञ (रेटिना विशेषज्ञ) डा. सुवाष पोखरेलका अनुसार हाल उनी कार्यरत विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालमा प्रायः डाइबेटिक रेटिनोपेथीका बिरामी आउने गरेको पाइन्छ ।

अस्पतालमा आउने आँखाका बिरामीमध्ये १९ देखि २० प्रतिशत बिरामी रेटिनोपेथीका हुनेगरेका पाइएको छ । उनका अनुसार मुख्यतया मधुमेहको औषधि लिइरहेका बिरामीहरू आँखा जाँच गर्न आउँदा उनीहरूको आँखामा डायबिटीज रेटिनोपथी भइसकेको पाइन्छ । डाइलाटेड फन्डस जाँच (जसमा आँखाको नानी फुलाएर आँखको पर्दाको जाँच गरिन्छ) बाट यो रोग पत्ता लाग्ने हुन्छ ।

डाइबेटिक रेटिनोपेथी बच्चादेखि बूढा सबै उमेर समूहका डायबेटिज नियन्त्रण नभएका मानिसहरूलाई लाग्न सक्छ । तर, ४० वर्षभन्दा माथिका उमेर समूहमा रेटिनोपेथी बढी सामान्य हुने पाइन्छ ।

रेटिनोपेथी रोग मधुमेहबाहेक उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल भएका, गर्भावस्थामा, धुम्रपान र मद्यपान गर्ने तथा मृगौलाका रोगीहरूलाई पनि लाग्नसक्छ । तर, अन्य स्वास्थ्य समस्याको तुलनामा मधुमेह रोगीमा डाइबेटिक रेटिनोपेथी हुने सम्भावना दुई गुणा बढी हुन्छ ।

डा. पोखरेलका अनुसार नन पोलिफेरेटिभ डाइबेटिक रेटिनोपेथी र पोलिफेरेटिभ डाइबेटिक रेटिनोपेथी गरी रेटिनोपेथीको दुईवटा प्रकार हुन्छन् । रेटिनोपेथी भनेको आँखाको पर्दा अर्थात् रेटिनामा लाग्ने रोग हो ।

आँखाको पर्दामा असर भए पनि व्यक्तिमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । यो रोग लाग्दा आँखाको ज्योति धमिलो हुँदै जाने, आँखामा केही तैरिरहेको जस्तो कालो धब्बा देखापर्ने हुन्छन् । र, यो नै रोग लागेपछि देखिने मुख्य लक्षण हुन् । आँखा धमिलो हुँदासम्म रेटिनामा धेरै क्षति भइसकेको हुन्छ ।

डाइबेटिक रेटिनोपेथी भएकाहरूलाई मोतियाबिन्दु र जलबिन्दु हुने जोखिम पनि बढी हुन्छ । लक्षण वेवास्ता गरेर बसेमा रेटिनोपेथी रोग बढ्दै जान्छ र यसले अन्धोपना निम्त्याउन सक्छ । रगतमा ग्लुकोजको स्तरमा वृद्धि भएसँगै लक्षण र रोगको गम्भीरतालाई बढाउँछ ।

त्यसैले सुरुको अवस्थामा रगतमा चिनीलाई नियन्त्रण गर्न सके लक्षणहरूको थप गम्भीरतालाई रोक्न मद्दत गर्छ । रगतमा चिनीको नियन्त्रण गर्नका लागि हाइपोग्लाइसेमिक औषधि, इन्ट्राभिटेरल एन्टि भिइगीएफ औषधि इजेक्सन, लेजर उपचार तथा शल्यक्रिया डाइबेटिक रेटिनोपेथीका उपचार विकल्पहरू हुन् ।

प्रारम्भिक लेजर उपचारले डाइबेटिक रेटिनोपेथीबाट हुने अन्धोपनालाई रोक्न सक्छ । रगतमा ग्लुकोजको स्तरमा वृद्धि भएसँगै डाइबेटिक रेटिनोपेथीको जोखिम पनि बढ्ने हुँदा यसको रोकथामका लागि सुरुमै मधुमेह हुन नदिने वा रगतमा चिनीको स्तर नियन्त्रणमा राख्नु नै मुख्य आधार हो । साथै, रक्तचाप नियन्त्रण, रक्त कोलेस्ट्रोल नियन्त्रण, धुम्रपान त्याग्नु नै अन्य रोकथाम उपायहरू हुन् ।

त्यसैले, मधुमेह तथा रोग लाग्न सकिने जोखिम कारक भएका बिरामीले वर्षमा कम्तिमा एक पटक भएपनि राम्ररी आँखा जाँच गराउनुपर्ने उनले सुझाएका छन् । गर्भवती महिलामा मधुमेहको समस्या देखिएमा तिनीहरूले प्रत्येक ३ महिनामा आँखाको जाँच अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । डाइबेटिक रेटिनोपेथीलाई सुरुको चरणमा पहिचान गर्नसके अन्धोपनाबाट बच्न सकिन्छ ।