Rumpum Advertisement

जाडोमा बदाम खानुका फाइदा यस्ता

Neuro
जाडोमा बदाम खानुका फाइदा यस्ता

विराटनगर / जाडोको समयमा घाम तापेर बदाम छिल्दै खाँदा समय बितेको पत्तो हुँदैन । बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ ।

बदाम विशेषगरी स्वस्थ बोसो, प्रोटिन र फाइबरको राम्रो स्रोत हो । बदाममा धेरै मात्रामा पोटासियम, फस्फोरस, म्याग्नीशियम र बी भिटामिनहरू पनि प्रशस्त हुन्छन् ।

उच्च मात्रामा क्यालोरी भए पनि बदाम पोषणमा धनी हुनुका साथै यसमा कार्बोहाइड्रेट निकै कम हुन्छ । शारीरिक तथा मानसिक वृद्धिका लागि अति नै आवश्यक हुने हुँदा ठिक्क मात्रामा नियमित बदामको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुने गर्छ ।

प्रोटिनको स्रोत भएकाले यसको सेवनले माशंपेशी निर्माण गर्न र शरीरको विकासमा मद्धत पु¥याउँछ । अध्ययनअनुसार बदामको सेवनले लामो समयसम्म पेट भरेको जस्तो अनुभव गराउने हुँदा तौल घटाउन उपयोगी हुन सक्छ ।

बदामको सवेन पछि अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा जाग्दैन र यसले शरीरमा भएको अनावश्यक तौललाई नियन्त्रण गरी मोटोपनाको समस्या हुन दिँदैन । साथै, यसले उच्चरक्तचाप, कोलेस्ट्रोल, स्ट्रोक तथा हृदय रोगको जोखिमलाई पनि कम गर्न सक्छ ।

बदाममा कार्ब्सको मात्रा एकदम कम हुने हुँदा मधुमेह भएका व्यक्तिहरूको लागि बदाम राम्रो आहार विकल्प बन्न सक्छ । बदामको सेवन गर्भवती महिलाका लागि पनि निकै फाइदाजनक हुन्छ ।

बदामको सेवनले शरीरमा लाग्ने क्यान्सरको जोखिमलाई पनि कम गर्न मद्धत गर्छ । बदाममा पाइने एक तत्वले दिमागलाई स्वास्थ्य र तेज गराई स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

बदामको नियमित सेवनले छालालाई चाउरी पर्नबाट जोगाएर, छाला तथा कपाललाई नरम र चम्किलो बनाउँछ ।