Rumpum Advertisement

माघको पहिलो साताबाट महिला लिग हुने

माघको पहिलो साताबाट महिला लिग हुने

विराटनगर/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघको पहिलो साताबाट महिला लिग सुरु गर्ने भएको छ ।

बिहीबार बसेको कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रमअनुसार एन्फाले ७ माघबाट महिला लिग सञ्चालन गर्ने तयारी गरेको एन्फा महिला विभाग प्रमुख हरि खड्काले जानकारी दिए ।

माघ ७ गतेबाट महिला लिग सुरु गर्नेगरी तयारी गरिरहेका छौं,’ कोसी अनलाइनसँग कुरा गर्दै खड्काले भने, ‘हालको योजनाअनुरुप अगाडि बढेमा सोही मितिमा सुरु गर्नेछौं ।’

एन्फाले जिल्ला छनोट र नगर छनोटबाट चार टोली तयार पारेको छ । यस्तै विभागीय ३ टोलीलाई समावेश गरेर ७ टोलीलाई महिला लिगमा प्रतिस्पर्धा गराउन लागेको खड्काले बताए ।

विभागीय तीन टोली आर्मी, पुलिस र एपीएफसहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका र वालिङ नगरपालिका र विराटनगरपालिकाले महिला लिग खेल्नेछन् ।

‘यसअघि चैत–बैशाखमै लिग थाल्ने योजना थियो । तर कोरोनाका कारण स्थगित भयो । अब भने माघको पहिलो साताबाट लिग गर्ने योजनामा छौं,’ उनले भने, ‘हामीले मौखिक रूपमा प्रतियोगितामा सहभागी हुन ४ टिमलाई जानकारी दिएको छौं र केही दिनमा पत्राचार गर्नेछौं ।’