Rumpum Advertisement

प्रकाशलाई स्वस्तिमाको जवाफ : ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’

प्रकाशलाई स्वस्तिमाको जवाफ : ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’

विराटनगर/ भाइरल हुनु, चर्चा पाउनुअनि विवादमा तानिनु यी तीन फरक–फरक कुरा हुन् । तर जब केही कुरा भाइरल हुन्छ अनि मात्र त्यसले चर्चा बटुल्छ थोरै चर्चा पाएपछि जुनै कुराको पनि सकारात्मक–नकारात्मक पक्ष केलाइन्छ र विवादित बनाइन्छ ।

हुन त डिजिटल मिडिया भनेको पनि यही नै होला । पछिल्लो समय फिल्मी जगतका केही चर्चित कलाकारहरू मिडियामा अन्तर्वार्ता वा केही अभिव्यक्ति प्रकट गर्नेक्रममा धेरैजसो विवादमा मुछिएका छन् ।

अन्तर्वार्तामा सोधिने प्रश्न नै विवादित भएपछि प्रश्नको जवाफ जे आए पनि नतिजा त कलाकारले नै खेप्नुपर्ने हुन्छ । कलाकारहरू बढी विवादमा आउने कार्यक्रम वा प्रस्तोताको रूपमा अग्रस्थान ओगटेका छन्, ‘रजतपट’ तथा प्रकाश सुवेदीले । उनका कार्यक्रम रजतपट तथा ग्ल्यामर गफमा आएका प्रायः कलाकारहरू केही न केही रूपमा विवादित भएको देख्न सकिन्छ । केही दिन चर्को विवाद हुने त्यसपछि दुवैतर्फबाट दर्शकसँग माफी माग्ने यहीक्रम जारी छ ।

यस्तैमा बिहीबार साँझ प्रसारण गरिएको कार्यक्रम ‘रजतपट’ ले नयाँ विवादलाई जन्माएको छ । सो कार्यक्रम रजतपटमा नायिका स्वस्तिमा खडकालाई ‘अहिले त कामधाम छैन, उहीँ बूढो बोक्यो हिँड्यो’ भनेर स्वस्तिमाले निस्चललाई बोक्दै गरेको भिडियोसहित देखाइएको थियो ।

यसको प्रतिक्रियास्वरूप नायिका खड्काले जवाफ फर्काएकी छन् । ह्यास्ट्याग रजतपट लेख्दै स्वस्तिमाले फेसबुकमा यस्तो लेखेकी छन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । फोन नउठाएर सारै रिसाउनु भाको रहेछ, सरी ल’ भन्दै कडा जवाफ फर्काएकी हुन् ।

श्रीमतीको पक्ष लिँदै निश्चल बस्नेतले पनि यस्तै कुरा व्यक्त गरेका छन् । ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त,’ उनले फेसबुकमा लेखेका छन् ।