Rumpum Advertisement

फाइजरको खोपलाई स्वीकृति दिन अमेरिकी विज्ञहरूद्वारा सिफारिस

Neuro
फाइजरको खोपलाई स्वीकृति दिन अमेरिकी विज्ञहरूद्वारा सिफारिस

विराटनगर / अमेरिकी विज्ञहरूले फाइजर–बायोएनटेकको खोप स्वीकृति दिन सिफारिस गरेका छन् । फाइजर–बायोएनटेकको कोभिडविरुद्धको खोपलाई आपतकालीन रूपमा प्रयोग गर्न सकिने भन्दै अमेरिकी खाद्य तथा औषधि नियामक (एफडिए)लाई सुझाव दिने चिकित्साविज्ञको टोलीले समर्थन जनाएका हुन् ।

सर्वसाधारणका लागि प्रयोग गर्न फाइजरको खोपलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन् । तर, उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी रहेको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स एजारका अनुसार आउँदा केही दिनमै खोप पाइनेछ । र, अर्को साताबाट सबैभन्दा बढी जोखिममा रहेकालाई खोप दिन थालिनेछ । सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्‍याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ ।

फाइजरले पहिलो चरणमा डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । खोपको दुई डोज आवश्यक पर्ने हुँदा पहिलो चरणमा अमेरिकाका झण्डै ३० लाख जनसङ्ख्याका लागि मात्र खोप पुग्नेछ ।

एफडीएले स्वीकृति दिएसँगै देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकलाई खोप दिइने अपेक्षा राखिएको छ । दोस्रो चरणमा देशका झण्डै आठ करोड ७० लाख अत्यावश्यक सेवामा काम गर्नेहरूलाई खोप दिने बताइएको छ ।

उच्च जोखिममा नरहेका समूहका लागि खोप सन् २०२१ को वसन्त याममा लगाइने छ । अमेरिकामा फाइजर–बायोएनटेकको साथै, मोडर्ना र न्याश्नल इन्स्चिच्युट अफ हेल्थले तयार पारेको अर्को खोपले समेत स्वीकृति खोजिरहेको छ ।