Rumpum Advertisement

युवती बलात्कार आरोपितसहित मिलापत्र गराउन खोज्ने सात जना पक्राउ

Neuro
युवती बलात्कार आरोपितसहित मिलापत्र गराउन खोज्ने सात जना पक्राउ

विराटनगर/ प्रहरीले युवती बलात्कार आरोपितसहित मिलापत्र गराउने खोज्ने सात जनालाई पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय रङ्गेलीले बलात्कार आरोपित बेलबारी नगरपालिका–८ का सुरेशकुमार खवाससहित सात जनालाई पक्राउ गरेको हो ।

२४ भदौ साँझ ६ बजे धनपालथान गाउँपालिका–५ की २१ वर्षीया युवतीलाई धान खेतमा मल छर्ने क्रममा सुरेशले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले २५ असोजमा इलाका प्रहरी कार्यालय रङ्गेलीमा जाहेरी दिएका थिए ।

त्यसयता फरार रहेका सुरेशलाई इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले १९ मङ्सिरमा रङ्गेली नगरपालिका–७ रंगेली बजारबाट पक्राउ गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई पाँच लाख रुपैयाँ दिई मिलापत्र गराएको पत्ता लागेको थियो । प्रहरीले मिलापत्र कागजसमेत बरामद गरेको छ ।

उक्त मिलापत्र कागज गराउन संलग्न धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, सोही स्थानका ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षकै कलकनु खवास, रङ्गेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवासलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।