Rumpum Advertisement

मानवअधिकारको सम्मानका लागि दीप प्रज्ज्वलन

मानवअधिकारको सम्मानका लागि दीप प्रज्ज्वलन

सुनसरी/नेपाल मानवअधिकार सङ्गठन सुनसरीले मानवअधिकारप्रति सम्मान तथा शान्तिको कामना गर्दै बिहीबार साँझ इटहरीको मुख्य चोकमा दीप प्रज्ज्वलन गरेको छ ।

७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भका आयोजित सो कार्यक्रम पूर्व–राष्ट्रिय अध्यक्ष आनन्द आचार्यको मुख्य आतिथ्य भएको थियो । कार्यक्रममा मानवअधिकार सङ्गठनका सुनसरी उपाध्याक्ष बालकृष्ण चौलागाई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, पत्रकार गणेश निरौलालगायतले नेपालमा मानवअधिकारको खस्किँदो अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

वक्ताहरूले निजी तथा सत्ता राजनीतिक स्वार्थका निम्ति व्यक्ति–हत्याको राजनीति नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका थिए । उनीहरूले नेपालमा भ्रष्टाचार, बलात्कार, दण्डहीनताजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न राज्य असफल भएको धारणा व्यक्त गरेका थिए ।


सोही समयमा एमनेस्टी इन्टरनेसनल समूह ६ इटहरीले पनि केशव बस्नेतको नेतृत्वमा दीप प्रज्ज्वलन गरेको थियो । दीप प्रज्ज्वलनका क्रममा इटहरी चोकमा ७२ वटा मैनवत्ती बालिएको थियो ।