Rumpum Advertisement

नेपालको फिफा वरीयता यथावत

Neuro
नेपालको फिफा वरीयता यथावत

विराटनगर/ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७१औँ स्थानमा यथावत रहेको छ ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ ।

बङ्गलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ । गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो ।

दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ ।