Rumpum Advertisement

लैङ्गिक हिंसाविरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न

लैङ्गिक हिंसाविरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न

इटहरी/ ११ बुँदे इटहरी घोषणा पत्र पारित गर्दै लैङ्गिक हिंसाविरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीयस्थल तालतलैयामा भएको सम्मेलनले एक वर्षे कार्ययोजना पारित गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले १६ दिनसम्म वडा–वडामा गरिएको अभियानले लैगिक हिंसाविरुद्ध जागरण र चेतना फैलाएको बताए । सामाजिक जागरण र दण्डहिनताको अन्त्य गर्न सके लैङ्गिक हिंसाका घटना कम हुने उनले बताए ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा इटहरीका सबै वडाहरूमा अन्तर्क्रिया कार्यक्रमसहितका ४० बढी कार्यक्रम सम्पन्न गरिएको बताइन् । विषम परिस्थितिका बाबजुद पनि लैङ्गिक हिंसाविरुद्धको अभियानलाई यस वर्ष गत वर्षभन्दा अझ ब्यापक बनाएको बताइन् ।

सम्मेलनले पारित गरेको घोषणा पत्रमा उपमहानगरले लैगिक नीति निर्माण गरी कार्यावन्यन गरिने, महिलाले नागरिकता प्राप्तिमा झेल्नुपरेका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने, सबैको पहँुचयुक्त सार्वजनिक निकायका भवन सबैको पहँुचयुक्त भौतिक संरचना निर्माणमा साझा प्रतिवद्धता ब्यक्त गरिएको छ ।

यस्तै सम्मेलनवाट एक बडामा पाँच वटा किशोरी साथी समूह निर्माण गरिने, प्रत्येक वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा हेल्पडेक्स स्थापना गरिने, एक वडा एक मनोविमर्षकताको ब्यवस्था गरिने, हिंसा प्रभावित महिला तथा बालबालिकाको पुनर्स्थापना र जीविकोपार्जनमा टेवा पु¥याउन आवश्यक तालिम र सहयोगका ब्यवस्था मिलाउनेलगायतका कार्ययोजना तय गरिएको छ ।