Rumpum Advertisement

स्वास्थ्य सेवाको पहुँचमा सर्वसाधारणलाई समेटेका छौं : मन्त्री घिमिरे

Neuro
स्वास्थ्य सेवाको पहुँचमा सर्वसाधारणलाई समेटेका छौं : मन्त्री घिमिरे

विराटनगर / कोरोना महामारीका समयमा संविधान प्रदत्त स्वास्थ्य अधिकारको पहुँचमा आम सर्वसाधारणलाई समेट्न सकेको प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरले बताएका छन् ।

७२ औँ अन्तर्राष्ट्रिय दिवशको अवसरमा मङ्सिर २५ गते मानव अधिकार सञ्जाल विराटनगर र महिला मानव अधिकार रक्षक सञ्जाल विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले संविधान प्रदत्त अधिकार रक्षाका लागि प्रदेश सरकार सफल भएको बताए ।

मन्त्री घिमिरेले कोरोना महामारीको सुरूआती दिनमा जोखिम व्यवस्थापन कसरी नियन्त्रण गर्ने भन्ने बारेमा अरुले व्यवस्थापन गरेको मोडल अनुसार व्यवस्थापन गर्न खोज्दा सरकार असफल जस्तो देखिए पनि पछिल्ला दिनमा तीन ओटै सरकारले कोरोना सङ्क्रमणको व्यवस्थापनको लय समाएपछि आम नागरिकको स्वास्थ्य अधिकार सुरक्षित भएको बताए ।

कार्यक्रममा प्रदेश सरकार नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारको विषयलाई मिहिन ढङ्गले विश्लेषण गरी नागरिक सङ्घ सङ्गठन अघि बढ्न आवश्यक रहेको बताए ।

मोरङको मिक्लाजुङ्गमा मङ्सिर २३ गते अपहरणपछि एक जना शिक्षकको हत्या निन्दनीय भएको बताउँदै त्यसखाले घटनाका विरूद्ध नागरिक समाजले दबाब सिर्जना गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मानव अधिकारको विषयलाई सबैले आन्दोलनको विषय बनाउँने तर मानव अधिकार कार्यान्वयनमा धेरै जसोले उदासिनता देखाउँदा समस्या सिर्जना भएको बताए ।

पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले मानव अधिकारकर्मी र पत्रकार एउटै अभियानमा संलग्न भएकाले विश्व मानव अधिकार दिवशले सबैलाई मानव गरिमा कायम राख्न सन्देश दिएको बताए ।

कार्यक्रम आयोजक मानव अधिकार सञ्जाल अध्यक्ष डिकप्रसाद घिमिरले राजनीतिकका नाममा पुन हत्याको राजनीति सुरूआत भएकाले मानव अधिकारकर्मीको भूमिका अझ बढेर गएको बताए ।

आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल ग्रामीण सामाजिक विकास केन्द्रका अध्यक्ष मणिकुमार अर्याल र महिला तथा बालबालिकाको पुनःस्थापना र न्याय प्राप्तिको लागि विशेष योगदान पुर्याएको भन्दै ए.बी.सी. नेपाल अध्यक्ष विष्णु शर्मा पन्तलाई सम्मान गरिएको छ ।