Rumpum Advertisement

‘राजेन्द्र सर’को अन्तिम विदाई, परिवारलाई तत्काल न्याय दिन माग

‘राजेन्द्र सर’को अन्तिम विदाई, परिवारलाई तत्काल न्याय दिन माग

विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको बिहीबार अन्तिम विदाई गरिएको छ । मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक श्रेष्ठलाई विप्लव समूहले मंगलबार घरबाटै अपहरण गरी हत्या गरेको थियो ।

बिहीबार बिहान १० बजेतिर अन्त्येष्टि गरिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । मिक्लाजुङ–२ र ७ को संगमस्थल भएर बग्ने बक्राहा खोलाको घाटमा श्रेष्ठको अन्तिम विदाई गरिएको अध्यक्ष आचार्यले बताए । श्रेष्ठको पार्थीव शरीरमा छोरा छत्रबहादुरले दागवत्ति दिए । उनको अन्त्येष्टिमा सयौं सर्वसाधारण, राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अगुवा सहभागी बनेका थिए ।

‘राजेन्द्र सरमाथि अमानवीय घटना गराउनेलाई राज्यले छुट दिन हुँदैन,’आचार्यले भने, ‘घटना हेर्दा राज्य निरिह देखियो ।’

शिक्षक श्रेष्ठलाई छोराले दागवत्ति दिइरहँदा मलामीका लागि भेला भएका सयौं सर्वसाधारणका आँखा रसाएका थिए । सबै भावविह्वल बनेका थिए । निक्कै बेरसम्म सन्नाटा छाएको दाहसंस्कार स्थलमा श्रेष्ठको शवलाई एकैछिनमा आगोले खाइदियो ।

अन्त्यष्टिका क्रममा श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठ सम्हालिन सकिरहेकी थिइनन् । यो माहोलले सबैलाई स्तब्ध बनाएको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

गाउँको विकास, समाज सेवा र शिक्षा क्षेत्रको उन्नयनमा सक्रिय रहेर अहोरात्र खट्ने शिक्षकलाई विप्लव समूहले सुकारीको आरोप लगाएर हत्या गरेको थियाे ।

श्रेष्ठको अन्तिम विदाई तथा श्रद्धाञ्जली सभामा नेपाल शिक्षक महासंघका केन्द्री उपमहासचिव दिनानाथ तिम्सिनाले शिक्षकको हत्या गरेर विप्लव समूहले आफ्नो अमानवीय व्यवहार छर्लङ्ग पारेको बताए ।

उनले पीडित परिवारलाई तत्काल न्याय दिन सके मात्रै राजेन्द्रकुमार श्रेष्ठप्रति सम्मान हुने उल्लेख गरे । प्रदेश सांसद कुशल लिम्बुले पनि श्रेष्ठका परिवारलाई न्याय दिन माग गरे ।

श्रद्धाञ्जली सभामा नेकपा केन्द्रीय सदस्य गुरु बरालले कुनै पनि राजनैतिक एजेन्डाबिना आन्दोलनको नाम दिएर व्यक्ति हत्या गर्ने छुट कसैलाई नभएको बताए ।