Rumpum Advertisement

मानव अधिकारकर्मीद्वारा नौवटा दूतावासअघि धर्ना

मानव अधिकारकर्मीद्वारा नौवटा दूतावासअघि धर्ना

काठमाडौँ/आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले नेपाल स्थित नौवटा दूवातावासअगाडि एकैसाथ धर्ना बसेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौँ र ललितपुरमा रहेका नौवटा दूतावासअगाडि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै धर्ना प्रदर्शन भएको हो । मानव अधिकारकर्मीहरुले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस पारेर काठमाडौँस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुरस्थित उत्तर कोरियाली दूतावासअगाडि एकसाथ प्रदर्शन गरेका हुन् ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य एवम् पूर्व महासचिव कृष्ण कँडेलले जीवजन्तु र मानिसलाई हानी हुने कुनै पनि आणविक अस्त्र राख्न पाइँदैन भन्दै प्रदर्शन गरिएको बताए । युद्धले विनासबाहेक केही पनि नगर्ने भएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको उनले बताए ।

धर्नामा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो सत्रु हो’ र ‘विश्व शान्ति एवम् सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो’, ‘सबै आणविक अस्त्र नष्ट गर’, ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर’, ‘आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन’, ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कसले बचाउने’, ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन्’ लगायत लेखिएका ब्यानर लिएर प्रदर्शन गरिएको थियो ।

यस्तै ‘युद्ध निषेधः शान्ति विशेष’, ‘युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ’, ‘युद्ध रोक शान्तिलाई बढावा देऊ’ लेखिएका प्लेकार्डहरु लिएर मानव अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।