Rumpum Advertisement

घाँटी र दाँतको दुखाइबाहेक यस्ता छन् नुनपानीले कुल्ला गर्नुका फाइदा

घाँटी र दाँतको दुखाइबाहेक यस्ता छन् नुनपानीले कुल्ला गर्नुका फाइदा

विराटनगर/घाँटीको दुखाइमा वा दाँत तथा गिजाको समस्या भएको बेला प्रायः नुनपानीले कुल्ला गर्ने सल्लाह दिइन्छ ।

यो सजिलो, सस्तो र एक पुरानो घरेलु उपचार हो । यसको कुनै साइड इफेक्ट पनि छैन । घाँटीको दुखाइ र मुखको समस्याबाहेक नुन पानीले कुल्ला गर्नाले विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न मद्दत गर्छ । नुनपानीको मिश्रणले घाँटीमा ब्याक्टेरियाहरूबाट उत्पादित हुने एसिडको असर घटाउन मद्दत गर्छ । यसले स्वस्थ पिएच सन्तुलन कायम राखी मुखमा अनावश्यक ब्याक्टेरियाको विकासलाई रोक्छ ।

नुनपानीले कुल्ला गर्नाले श्वासप्रश्वासको पथ र नाकको नलीमा खकारको उत्पादनलाई हटाउन मद्दत गर्छ । यसले सुन्निने समस्या कम गरी घाँटीमा हुने दुखाइलाई पनि कम गर्छ । यसबाहेक यसले ब्याक्टेरिया र भाइरसलाई निस्कासन गर्छ । जुन निस्कासन नभएमा नाक बन्द हुने समस्या निम्तिन सक्छ । जापानमा गरिएको अध्ययनअनुसार दिनको तीन पटक नुनपानीले कुल्ला गर्दा श्वासप्रश्वासको सङ्क्रमणको जोखिम ४० प्रतिशत कम गर्न सक्छ ।

नुनपानीले कुल्ला गर्दा टन्सिलले निम्त्याएको दुखाइ कम गर्न र यसको लक्षण पनि कम गर्न मद्दत गर्छ । सास गन्हाउने समस्याका लागि नुनपानीले कुल्ला गर्नु यसबाट छुटकारा पाउने एक प्रभावकारी तरिका हुन सक्छ । यसले मौखिक ब्याक्टेरियाहरूलाई बाहिर निकाल्न सक्छ जसकारण सास गन्हाउने समस्या हुने गर्छ । नुनपानीले कुल्ला गर्नाले गिजाको रक्तस्राव र गिजा सुन्निने समस्याबाट राहत दिन्छ ।

जुन जीवाणुद्वारा हुने गिजाको समस्याको पहिलो संकेत हो । नुनपानीले कुल्ला गर्नाले मुखमा हुने ब्याक्टेरियासँग लड्न मद्दत गर्नुका साथै दाँतको दुखाइबाट पनि छुटकारा पाउन सकिन्छ । नुनपानीले कुल्ला गर्नाले मुखमा हुने सानो घाउ (अल्सर)ले दिने पीडालाई कम गरी घाउलाई छिटो निको बनाउन मद्दत गर्छ ।