Rumpum Advertisement

रिसाए स्वारेज

रिसाए स्वारेज

विराटनगर/ स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेज र मिडफिल्डर साउल निगुएज प्रशिक्षक डिएगो सिमोनसँग रिसाएका छन् ।

च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलका क्रममा चाँडै प्रतिस्थापन हुनुपरेपछि उरुग्वेका स्टार स्वारेज र स्पेनिस निगुएज सिमोनसँग रिसाएका हुन् । प्रशिक्षक सिमोनले नै यो कुराको खुलासा गरेका हुन् ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रियन क्लब आरबी साल्जबर्गमाथि २–० गोलको जित निकाल्दै एथ्लेटिकोले अघिल्लो चरणमा स्थान बनाएको थियो ।

साल्जबर्गको मैदानमा एथ्लेटिकोलाई जिताउन मारियो हर्मोसो र यानरिक कर्रास्कोले समान एक–एक गोल गरेका थिए ।

सो खेलको ६४औं मिनेटमा स्वारेज र निगुएजले मैदान छोडेका थिए । सिमोनले स्वारेजको स्थानमा एन्जल कोरेर्रा र निगुएको ठाउँमा हेक्टर हेरेर्रालाई मैदान प्रवेश गराएका थिए । त्यसबेलासम्म एथ्लेटिकोले १–० गोलको अग्रता बनाइसकेको थियो ।

स्वारेज यसै खेलबाट टोलीमा फर्किएका थिए । कोरोना सङ्क्रमणपछि पनि उनी ला लिगाअन्तर्गत रियल भाल्लाडोलिडसँगको खेलबाट मैदान फर्किएका थिए । तर, त्यसअघिका च्याम्पियन्स लिगका खेलमा भने उनी उपस्थित थिएनन् ।

उनले च्याम्पियन्स लिगमा बायर्न म्युनिख र लोकोमोटिभ मस्कोसँगको दोस्रो खेल गुमाएका थिए । ला लिगामा भने उनले पूर्वक्लब बार्सिलोना र भ्यालेन्सियाको खेल खेलेका थिएनन् ।

सिमोनले प्रतिस्थापनपछि स्वारेज र निगुएज आफूसँग रिसाएको बताए ।

‘स्वारेज र निगएज सब्सिच्यूडपछि रिसाए । उनीहरूको रिस सामान्य हो’, सिमोनले भने, ‘मैदान छोड्नुपर्दा जो पनि रिसाउँछ, म पनि त्यसै गर्छु । यी खेलहरू त्यस्ता हुन्, जसमा जो पनि ९० मिनेट खेल्न चाहन्छ । जब तपाईंलाई मैदानबाट निकालिन्छ । यो बुझ्नुपर्छ कि त्यहाँ रिस अवश्य हुन्छ ।’

३९औं मिनेटमा हर्मोसो र खेल सकिन चार मिनेट बाँकी छँदा कर्रास्कोले गोल गर्दै एथ्लेटिकोलाई जिताए ।

जितसँगै एथ्लेटिको समूह ‘ए’को दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । उसले ६ खेलबाट ९ अंक बनायो ।

सोही समूहको बायर्न म्युनिख भने अगाडि नै अन्तिम १६ मा पुगिसकेको थियो । गए राति भएको खेलमा बायर्नले मस्कोमाथि २–० गोलको जित निकाल्यो ।