Rumpum Advertisement

सदर चिडियाखाना खुल्यो

Neuro
सदर चिडियाखाना खुल्यो

काठमाडौँ/गतवर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ ।

सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीवी पोखरेलले बन्द भएको नौ महिनापछि चिडियाखानालाई खुल्ला गरिएको बताए । चिडियाखाना दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ । एकपटकमा आठ सयजनासम्मलाई प्रवेश दिइने पनि डा. पोखरेलले बताए ।

चिडियाखाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टासम्म भित्र बस्न पाउने व्यवस्था गरिएको छ । घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखानाभित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्नेलगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताए ।

यस्तै चिडियाखानाभित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियमसमेत बनाइएको छ ।

चिडियाखाना अवलोकन गर्न आउनेहरु पनि लामो समयपछि चिडियाखानाभित्र घुम्न पाउँदा खुसी लागेको बताएका छन् । पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरी जनावरहरुको अवलोकन गर्न पाउने व्यवस्था गरिएकाले असुरक्षा महसुस नभएको पनि उनीहरुले बताए ।

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्ला गरिएको हो । चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

काउन्टरबाट टिकट खरिद गर्दासमेत अनलाइन टिकट प्राप्त हुने छ । चिडियाखानामा अवलोकन गर्नका लागि एक सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।