Rumpum Advertisement

विरोध प्रदर्शनमा सहभागिता जनाउन कार्यकर्तालाई आव्हान

विरोध प्रदर्शनमा सहभागिता जनाउन कार्यकर्तालाई आव्हान

काठमाडौँ/प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।

काङ्ग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए ।

उनले भने, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो ।’

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मङ्सिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।

उनले भने, ‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ ।

प्रवक्ता शर्माले सरकार बनेपछाडि बढिरहेको भ्रटाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताए । उनले भने, ‘यो सरकार बनेपछाडि निरन्तर बढिरहेको भ्रष्टाचार, स्वास्थ्य सामग्रीको खरिदसम्म भएको भ्रष्टाचारदेखि भ्रष्टाचारको अनेकन प्रकरणविरुद्ध सडकमा उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेकोसमेत बताए । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारवाही गर्नसमेत माग गरेको प्रवक्ता शर्माले बताए ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताए । २९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए ।