Rumpum Advertisement

विश्वका शीर्ष १० मध्ये सात मृत्युको कारण नसर्ने रोग : डब्लुएचओ

विश्वका शीर्ष १० मध्ये सात मृत्युको कारण नसर्ने रोग : डब्लुएचओ

विराटनगर/विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका शीर्ष १० मध्ये सात मृत्युको कारण नसर्ने रोग रहेको बताएको छ ।

सार्वजनिक गरिएको ग्लोबल हेल्थ इस्टिमेट २०१९ नामक प्रतिवेदनमा यो तथ्याङ्क २००० को तुलनामा चारबाट बढेर सात पुगेको देखाइएको हो । डब्लुएचओले सन् २००० देखि २०१९ सम्मको तथ्याङ्कलाई लिएर गरेको अध्ययनमा नसर्ने रोगबाट मृत्यु हुने कारणमा मुटुरोग पहिलो नम्बरमा देखाएको छ ।

पछिल्ला २० वर्षदेखि मुटुको रोग विश्वव्यापी तहमा मृत्युको प्रमुख कारण बन्दै आएको छ । तर, यसपटक यसले पहिलेभन्दा बढी मानिसहरूलाई मारिरहेको छ । १९ वर्षको अवधिमा मुटुरोगबाट मृत्यु हुनेको सङ्ख्या २० लाखबाट बढेर ९० लाख पुगेको उल्लेख गरिएको छ । अमेरिका र युरोपियन मुलुकमा भने अल्जाइमर र डिमेन्सियासँग सम्बन्धित रोगहरू मृत्युको तेस्रो कारण देखाइएको छ ।

विश्वमा डिमेन्सियासम्बन्धी रोगबाट मृत्यु हुनेमा ६५ प्रतिशत महिला छन् । त्यसपछि ७० प्रतिशत वृद्धिका साथै मधुमेहलाई मृत्युको प्रमुख कारण देखाइएको छ । जसमा मधुमेह रोगबाट मृत्यु हुनेमा ८० प्रतिशत पुरुष छन् । प्रतिवेदनका अनुसार निमोनिया र गम्भीर प्रकृतिका श्वासप्रश्वाससम्बन्धी रोग मृत्युको चौथो कारणको रुपमा उल्लेख गरिएको छ ।

तर, सन् २००० को तुलनामा, श्वासप्रश्वासको संक्रमणले विगतको तुलनामा थोरैको ज्यान लिएको छ । विश्वव्यापीरूपमा हुने मृत्युको सङ्ख्या झन्डै पाँच लाखले घटेको छ । तर, मध्यम आय भएका मुलुकहरूका लागि भने १० मध्ये ६ मृत्यु हुने कारण सरुवा रोग नै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा मलेरिया, एचआईभी, क्षयरोगलगायत छन् ।

त्यस्तै सरुवा रोगपछि सवारी दुर्घटना मृत्युको अर्को प्रमुख कारण रहेको उल्लेख छ । अफ्रिकन मुलुकहरुमा सवारी दुर्घटनाको दर दुई दशकमा ५० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । सवारी दुर्घटनाका कारण विश्वभर ज्यान गुमाउनेमा ७० प्रतिशत पुरुष हुन् ।