Rumpum Advertisement

वैदेसिक रोजगार फोरम स्थापना गरिने : गोल्छा

वैदेसिक रोजगार फोरम स्थापना गरिने : गोल्छा

काठमाडौँ/नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेसिक रोजगार फोरम स्थापना गर्ने भएको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले वैदेसिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासङ्घभित्र वैदेसिक रोजगार फोरम स्थापना गरिने बताएका हुन् । नेपाल वैदेसिक रोजगार व्यवसायी सङ्घले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

महासङ्घभित्र स्थापना हुने फोरमले वैदेसिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताए । देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेसिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासङ्घबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेसिक व्यवसायीका समस्या समाधान गर्न आफू विगतदेखि नै लागिपरेको बताए । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सधैं पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताए । अब पनि महासङ्घमा बसेर वैदेसिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताए ।

कार्यक्रममा वैदेसिक रोजगार व्यवसायीहरुले आफूहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवसायीहरुले बताए ।