Rumpum Advertisement

ओली पक्षलाई काउन्टर दिन प्रचण्ड–नेपाल पक्षको विद्यार्थी भेला

ओली पक्षलाई काउन्टर दिन प्रचण्ड–नेपाल पक्षको विद्यार्थी भेला

विराटनगर/नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थीको प्रदेश भेला विराटनगरमा आयोजना गरेपछि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले छुट्टै भेला आयोजना गर्ने तयारी गरेका छन् ।

नेपाल र प्रचण्ड पक्षले २८ मङ्सिरमा झापाको दमकमा प्रदेशस्तरीय विद्यार्थी भेला आयोजना गर्न लागेका हुन् ।

सोमबार विराटनगरमा ओली पक्षले विद्यार्थीको प्रदेशस्तरीय भेला आयोजना भएको थियो । भेलामा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्बोधन गरेका थिए । गोप्यरुपमा आयोजना गरिएको भेलाले गरेको निर्णय सार्बजनिक भएको छैन ।

ओली पक्षले विराटनगरमा गोप्य भेला गरे पनि नेपाल–प्रचण्ड पक्षका विद्यार्थीको भेला खुलारुपमा गर्ने बताइएको छ ।

‘हाम्रो भेला गोप्य हुँदैन । खुलारुपमा गर्दैछौं,’ अनेरास्ववियुका सचिव वसिम आलमले भने, ‘पार्टी नेतृत्वलाई खुलारुपमा एकताको पक्षमा आह्वान गर्छाैं ।’

सोमबार विराटनगरमा भएको ओली पक्षको भेलामा फोटो खिच्न तथा रेकर्ड गर्न दिइएको थिएन । दमकमा भने मिडियालाई बोलाएर आफ्ना विषय राख्ने आलमले बताए ।