लहान/ सिरहाको लहानमा अज्ञात समूहले दिउँसै हतियार देखाएर लुटपाट गरेको छ । अज्ञात समूहले लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट बुधबार एक जनाको रु चार लाख रकम लुटेर लगेको हो ।
लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेका हुन् ।
रकम झिकेर साइकलमा घर फर्किँदै गर्दा लहान–ठाडी सडकअन्तर्गत भगवानपुरस्थित स्मार्टफोनको टावर नजिकै मास्क लगाएर बसेका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर आफूसँग भएको सबै रकम लुटेर लगेको उनले जानकारी दिए ।
अलिकति पनि हल्ला गरिए ज्यान मर्ने धम्की दिएकोसमेत पीडित यादवको दुखेसो छ । इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिए ।
पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उनले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए । रासस