birat ribon

विराटनगरका ट्राफिक डमी सजग बनाउने होइन, तर्साउने बुख्याँचाजस्ता

Neuro
विराटनगरका ट्राफिक डमी सजग बनाउने होइन, तर्साउने बुख्याँचाजस्ता

यज्ञ अधिकारी

विराटनगर/कोसी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीदेखि ढाटसम्मको डिभाइडरमा राखिएका ट्राफिक प्रहरीका ‘डमी’ लथालिङ्ग अवस्थामा पुगेका छन् ।

cura insider

सडक दुर्घटना घटाउन मोरङ ट्राफिकले राखेका डमीले स्याहार नपाउँदा तर्साउने बुख्याँचाजस्ता बन्न पुगेका हुन् । मोरङ ट्राफिकले डेढ वर्षअघि विराटनगरको बरगाछीदेखि ढाटसम्म ठाउँ–ठाउँ डिभाइडरमा ट्राफिक प्रहरीको डमी राखेको थियो ।

अति नै व्यस्त रहने सडकमा सवारी चलाउनेलाई लापरवाही गर्न हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पार्न राखिएका डमी मान्छे तर्साउने साधन बनेका छन् । डिभाइडरमा राखिएका ट्राफिक आकृतिमा टाँसेको फोटो च्यातिएका, उक्किएका छन् । विषेशगरी रातको समयमा सडकमा हिँडदा फलामको कालो आकृति झस्काउनेखालको छ । खुइलिसकेका र उक्किएका डिभाइडरमा राखेको अकृतिले रातको समय झट्ट हेर्दा झस्काउने गरेको विराटनगरका राजन सिवाकोटीले बताए । ‘बाइक चलाइरहेको रातको समयमा एक्कासि ती आकृतिमा आँखा पर्दा झसङ्ग हुन्छ,’ उनले भने ।

चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा र लापरवाही ढङ्गबाट सवारीसाधन चलाउनबाट रोक्न डमी राखिएका हुन् । चालकलाई मनोवैज्ञानिक प्रभाव पर्ने गरी ठाउँ–ठाउँका डिभाइडरमाथि डेढ वर्षअगाडि डमी ट्राफिक राखिएका थिए । अहिले त्यसको व्यवस्थापनमा चासो नदिँदा डमी प्रभावहीन बन्न पुगेका छन् ।

तत्कालीन समयमा निकै चर्चा पाएको डमीले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याएको थियो । रातमा टल्किने र छर्लङ्गै ट्राफिकजस्तै देखिने बोर्ड राखिएपछि चालकलाई सचेत हुन मद्दत पुग्ने गरेको थियो । अहिले ठाउँ–ठाउँमा राखिएका डमी ट्राफिक खुइलिएर र च्यातिएर तर्साउने गर्छन् । सवारी–चालक सचेत गराउने उद्देश्यले राखिएका ट्राफिक डमी तर्साउने ब्युख्याँचामा रूपान्तर भएपछि यसले उल्टै दुर्घटनाको जोखिम बढाएको छ ।

कोसी राजमार्गमा राखिएका डिभाइडर मिलाउने काम भइरहकाले ट्राफिक डमीलाई व्यवस्थित गर्न केही समय लाग्ने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले बताए । डिभाइडरको बीच–बीचमा बनाइएको क्रस गर्ने ठाउँ बन्द गर्ने काम भइरहकाले एक महिनाभित्रमा नयाँ डमी राखिने उनले बताए । ‘नयाँ ट्राफिक डमी इटहरीमा तयार रहेको छ,’ उनले भने, ‘डिभाइडर मिलाउने काम सकेर डमी राख्ने कम गर्छौ ।’ दुर्घटना न्यूनीकरणमा सहयोगी भएकाले डमीलाई निरन्तरता दिने उनले बताए ।

jackson ribon