birat ribon

फ्रन्टलाइनरको कोरोना अनुभव : रिपोर्ट नेगेटिभ आउनासाथ ड्युटीमा

‘सामान्य दिनचर्यामा फर्कन सकेको छैन’

Neuro
फ्रन्टलाइनरको कोरोना अनुभव : रिपोर्ट नेगेटिभ आउनासाथ ड्युटीमा‘सामान्य दिनचर्यामा फर्कन सकेको छैन’

विराटनगर/फ्रन्टलाइनमा रहेर काम गर्दैगर्दा कोरोना सङ्क्रमित बनेका स्वास्थ्यकर्मी निको हुनसाथ पुनः ड्युटीमा फर्किएका छन् । संक्रमणमुक्त भएर काममा फर्किएका फ्रन्टलाइनरमध्येकी एक हुन्, कोसी अस्पताल विराटनगरको स्त्री तथा प्रसूति विभागकी नर्स बिन्दु भट्टराई ।

cura insider

सङ्क्रमित हुनुअघि उनी अस्पतालको स्त्री तथा प्रसूति विभागमा कार्यरत थिइन् । फ्रन्टलाइनमा खटेर काम गर्दागर्दै उनी सङ्क्रमित हुन पुगिकी थिएन् । सङ्क्रमणमुक्त भएको भोलिपल्टबाटै उनी अस्पतालको आइसोलेनमा खटिएकी हुन् ।

सङ्क्रमित हुँदाको अनुभव उनले यसरी सुनाइन् :

मलाई ड्युटी गर्दाकै समयमा कोरोनाको सङ्क्रमण भएको हुनसक्छ । १० कात्तिकमा दसैँको टिका लगाएर घर आएपछि मलाई जिउ गलेकोजस्तो, अत्यधिक थकान र १०० डिग्रीसम्मको ज्वरो देखिएको थियो ।

टिकाको दुई दिनसम्म लक्षण देखिरहेको थियो तर, जिउ दुखाइ भने अत्यधिक बढ्दै गयो । १२ कात्तिकमा रुघाखोकी पनि सुरू भयो ।

१३ कात्तिकमा सास फेर्न गाह्रो भएको महसुस हुन थाल्यो । नाक र घाँटीको प्वाल टालिएको जस्तो भयो । त्यसपछि क्रमशः १४ कात्तिकमा गन्ध र १५ मा स्वाद हरायो ।

पहिला देखिएको ज्वरो र रुघाखोकीलाई खासै वास्ता गरिनँ । तर, गन्ध तथा स्वाद हराएपछि र सास फेर्न गाह्रो हुँदै गएपछि एकदम जटिल परिस्तिथि आएकोजस्तो महसुस हुँदै गयो । मलाई देखिएको सबै लक्षण कोभिडको थियो । जसकारण मलाई कोभिडको सङ्क्रमण नै भएको हो भनेर लगभग पक्का भए ।

मौसम परिवर्तनका कारण ज्वरो र रुघाखोकीको समस्या देखिएको होला भनी सोचेर बेवास्ता गरेको थिएँ । तर, स्वाद र गन्ध हराएपछि पक्कै पनि कोभिड नै होला भनेर शंका लागेपछि १६ कात्तिकमा पिसिआर टेस्ट गराउनका लागि स्वाब नमुना दिएँ । भोलिपल्ट रिपोर्ट पोजिटिभ आएसँगै मलाई सङ्क्रमण भएको पुष्टि भयो ।

डाक्टरको सल्लाहअनुसार म होम आइसोलेसनमा बसेँ । शरीर निकै कमजोर हुँदै गएको महसुस भइरहेको थियो, जसकारण मलाई धेरैजसो समय निद्रा मात्र लागिरह्यो ।

शरीरमा अक्सिजनको मात्रा कम भएका कारण धेरै निद्रा लाग्ने गरेकोजस्तो लाग्छ । ब्युँझिएको बेलामा टिभी हेर्ने, मोबाइल चलाउने, घाम ताप्ने, ध्यान तथा योग गरेर माइन्डलाई डाइभर्ट गर्ने कोसिस गरेँ । कोरोनाको सङ्क्रमणले मलाई धेरै गाह्रो बनायो । शरीरमा अक्सिजनको मात्रा घटेर ८६ प्रतिशत पुगिसकेको थियो ।

डाक्टरको सल्लाह लिएर पाँच दिनसम्म अक्सिजनको सहरामा बिताउनु पर्ने भयो । होम आइसोलेसनमा बस्दा गुर्जो–पानी, काढापानी, दिनको चार पटकसम्म बाफ लिने, झोलिलो सुपहरू खाने र घरेलु उपचारमा जोड दिएँ ।

मलाई देखिएको लक्षणका आधारमा पाँच दिन एजिथ्रोमाइसिन, १४ दिन लेभोफ्लोक्सासिन, १४ दिन लेभोसेट्राजिन, १४ दिन साइनेक्स र भिटाममिन डी, भिटामिन बी, भिटामिन सी, क्यालसियम र च्यबनप्रास सेवन गरेँ । ३ मङ्सिरमा दोस्रो पटक पिसिआर टेस्ट गराएँ । भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो ।

१७ दिनमा निको भए पनि ममा देखिएका यी सबै लक्षण हराउन २२ देखि २५ दिनसम्म लाग्यो । तर, हालसम्म पनि पहिलाको जस्तो पूर्णरुपमा निको भइसकेको जस्तो लाग्दैन । निको भइसके पनि मलाई कोभिडले निकै गाह्रो बनाइरहेको छ । पहिलाजस्तो सामान्य जीवनमा फर्कन सकेको छैन । कमजोरी छ, पहिलाजस्तो व्यायाम तथा काम पनि गर्न सक्छुजस्तो लाग्दैन, धेरै दिन बित्दा पनि अहिलेसम्म गन्ध थाहा पाउने क्षमता पूर्णरुपमा फर्किसकेको छैन । अलिकति कामको धपेडी पर्नासाथ सास बढेको जस्तो हुन थाल्छ ।

कोभिडको सङ्क्रमणपछि कहिलेकाहीँ साना–साना कुराहरू पनि बिर्सिने भएको छु । पहिले यस्तो थिएन । यसले कहिलेकाहीँ ममा तनाब पैदा गरिरहेको छ । कोभिडपछिको जीवन कोभिड अघिजस्तो नहुँदो रहेछ ।

रिपोर्ट नेगेटिभ आएको भोलिपल्ट अर्थात् ५ मङ्सिरमा नै ड्युटी जान थालेँ । वार्डको व्यस्तता र स्टाफ पनि कम भएको हुँदा धेरै आराम गर्न पाइनँ ।

स्त्री तथा प्रसूति विभागमा ड्युटी गरिरहेकी म हाल अस्पतालको आइसोलेसन वार्डमा खटिएकी छु । उक्त वार्डमा पिसिआर गर्नुभन्दा अगाडि लक्षण देखिएका सम्भावित बिरामीहरूलाई राख्ने गरिन्छ ।

१४ दिन आइसोलेसनमा काम गरेपछि पुनः स्त्री तथा प्रसूति विभागमै ड्युटी गर्नेछु । कोरोना सङ्क्रमितलाई धेरै हेला गर्छन् भन्ने सुनेकी थिएँ तर, मैले परिवार र साथीबाट एकदम धेरै सहयोग पाएँ । यसमा म आफूलाई भाग्यमानी नै ठान्दछु । परिवारमा म, मेरो पति र छोरीसँग बस्छु । उनीहरूबाट मेरो हेरचाहमा कुनै कमी महसुस भएन । एकदम साथ दिएर सधैँ हौसला बढाइरहनु भयो ।

साथी तथा आफन्तहरूले पनि मलाई बेलाबेला भेट्न आए, फोन तथा म्यासेजमा सधै हालखबर सोधिरहे, भिडियो कल गर्दै हौसला बढाइरहे । समाजबाट नि धेरै सहयोग पाएकोजस्तो मसहुस हुन्छ ।

पटक–पटक बाफ लिने, खानपानमा ध्यान दिने, योग र ध्यानमा समय बिताउने, व्यायाम गर्नुका साथै आत्मबल उच्च बनाउनुपर्ने रहेछ । कोरोना सङ्क्रमित भएपछि यसले गम्भीर बनाउन सक्छ भन्ने लागेको छ । त्यसैले यसलाई सामान्य नसोची लापरवाही गर्न हुँदैन । सानो लापरवाहीले पनि ज्यानलाई जोखिममा पार्न सक्छ ।

कोरोनाले बच्चा, जवान, वृद्ध, रोगी, स्वस्थ, धनी–गरिब केही भन्दैन । सामान्य सङ्केत देखिँदा पनि कुन बेला गम्भीर भई ज्यान नै जोखिममा पार्न सक्छ, थाहा हुँदैन । गम्भीर भएर बाँचिहाले पनि केही न केही समस्या भइरहने वा अपाङ्गको जस्तो जीवन बाँच्नुपर्ने हुनसक्छ । म एक नर्स भएको कारणले पनि उच्च जोखिममा थिएँ । आफ्नो कामदेखि परिवारलाई हेर्नुपर्ने भएकाले सतर्कता अपनाउँदा–अपनाउँदै पनि सङ्क्रमित हुन पुगेँ । कोरोनालाई समान्य नसोचौँ ।

jackson ribon