विराटनगर/नेपालमा घरमै बसिरहेका १० प्रतिशत मानिसमा पनि कोरोना भाइरस सङ्क्रमण भइसकेको हुन सक्ने देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणको प्रारम्भिक परिणामले हालसमम्म झण्डै ३० लाख नेपाली सङ्क्रमित भइसकेको हुनसक्ने देखिएको हो । आफू सङ्क्रमित भएको थाहा नभएर घरमै बसेको हुँदा उक्त सङ्ख्या सङ्क्रमितको सरकारी तथ्याङ्कमा नजोडिएको हुनसक्ने बताइएको छ ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताएअनुसार विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा नेपालका सातै प्रदेशका ७७ मध्ये ७५ वटा जिल्लामा गरिएको रगत परीक्षण सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । ‘सेरोसर्भेइलेन्स’ भनिने परीक्षण गर्नका लागि प्रत्येक प्रदेशबाट चार सय ५० वटा नमुना सङ्कलन गरिएको थियो ।
परीक्षणको नतिजाले बालकदेखि बृद्धसम्म सबै उमेर समूहमा ‘एन्टिबडी’ देखिएको हुँदा उनीहरूमा कुनै बेला सङ्क्रमण भइसकेको थियो भन्ने जनाएको छ । समुदायस्तरमा सङ्क्रमण भए–नभएको वा त्यसको स्तर पत्ता लगाउन मानिसहरूको एन्टिबडी जाँच्न सेरोसर्भेइलेन्स परीक्षण गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोन भाइसका ८० प्रतिशत सङ्क्रमितमा रोगको कुनै लक्षण नदेखिने गरेको पाइएको छ । त्यसैले नेपालमा पनि सङ्क्रमित भएर थाहा नपाएका मानिसको सङ्ख्या धेरै हुनसक्ने ठानिएको छ । नेपाल जनस्वास्थ्य सङ्घका पूर्वअध्यक्ष भोगेन्द्र डोटेलका अनुसार सबै स्वीकृत मापदण्ड पूरा गरेको सर्वेक्षणले नेपालमा सङ्क्रमणको दायरा सरकारी तथ्याङ्कमा भनिनेभन्दा धेरै रहेको देखाउँछ ।
उक्त सर्वेक्षण नेपालमा सङ्क्रमितको सङ्ख्या निकै बढेका बेला गरिएको हुनाले स्वास्थ्य मन्त्रालयले थप बिस्तृत अध्ययन गर्ने तयारी गरिरहेको छ ।