birat ribon

निहत्था शिक्षकको विभत्स हत्या, हिंसाको बाटोमा विप्लव समूह

Neuro
निहत्था शिक्षकको विभत्स हत्या, हिंसाको बाटोमा विप्लव समूह

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा घाँटी रेटेर विभत्स तरिकाले शिक्षकको हत्या गरेको घटनाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हिंसाको बाटोतर्फ उन्मुख भएको पुष्टि गरेको छ ।

cura insider

सुरक्षा संयन्त्रलाई नै झस्काउने गरी निहत्था शिक्षकको हत्या भएको घटनाले सबैमा त्रास उत्पन्न गराएको छ । सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेर भित्रभित्रै आफ्नो गतिविधि सञ्चालन गरेर मजबुत बनिरहेको उक्त समूहले पछिल्लो पटक मंगलबार बिहान मिक्लाजुङ–१ बर्खे घर भएका शिक्षक ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको हो । श्रेष्ठ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

उनको बिहान हत्या भए पनि ‘विप्लव’ समूहले विज्ञप्ति सार्वजनिक गर्दै साँझमात्रै घटनाको जिम्मा लिएको छ । घटनासँगै सुरक्षा निकायले ‘विप्लव’ समूह हिंसाको बाटोतर्फ अघि बढेको र व्यक्तिको हत्या गर्न थालेको विश्लेषण गरेका छन् । सुरक्षा निकायले व्यक्ति हत्याको राजनीतिमा उक्त समूह लागेको र उसको निशानामा सर्वसाधारण पर्न थालेको भन्दै नियन्त्रणका लागि सरकारले बेलैमा उचित कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

भ्रष्टाचार र विभिन्न प्रकरणमा आलोचित व्यक्ति र संस्थालाई ‘कारबाही’ गरेको देखाएर आफ्नो बलियो उपस्थिति जनाउन ‘विप्लव’ समूह लागेको थियो । तर पछिल्लो घटनाले उक्त समूह व्यक्ति हत्याको रणनीति लिएर अघि बढेको प्रष्ट हुने एक सुरक्षा अधिकारीले बताए । नख्खुमा भएको एनसेल बम प्रकरण र वर्षको सुरुवातमा भएका शृङ्खलाबद्ध ‘आत्मघाती’ विस्फोटमा चार जना सैन्य कार्यकर्ता मारिएपछि उसले खासै प्रभावकारी गतिविधि गरेको थिएन । केही समय सरकार आक्रामक र ‘विप्लव’ समूह रक्षात्मक रूपमा थियो ।

तर भित्रभित्रै विभिन्न योजनाका साथ रणनीति बनाएर अघि बढ्दै व्यक्ति हत्याको घटना गराउन थालेको सुरक्षा विश्लेषण छ । आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका सबै गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि घटना भएको दाबी ‘विप्लव’ समूहको छ । उक्त समूहका मेची–कोसी ब्युरो इञ्चार्ज प्रतापद्वारा जारी विज्ञप्तिमा पटकपटक सचेत गराउँदा पनि नसच्चिएपछि र हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको दाबी गरिएको छ ।

तर उसको दाबी झुटो सावित भएको छ । बिहान घरकै काम गरिरहेका श्रेष्ठलाई पाँच/सात जनाको सङ्ख्यामा रहेको समूहले घरबाटै अपहरण गरेर जङ्गलतर्फ लगेको केहीबेरमा हात बाँधेर घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । ‘विप्लव’ समूहले हतियारले प्रतिकार गरेको भने पनि शिक्षक श्रेष्ठसँग कुनै हतियार भने थिएन । उनी नि:सशस्त्र थिए । घरबाट अपहरण गरेपछि आफ्नै नियन्त्रणमा राखेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिनुअघि नै उक्त समूहले आफ्नाविरुद्ध सुराकी गरेकाले तह लगाएको सन्देश दिएको थियो । घटनामा उसको संलग्नता पुष्टि भएपछि प्रतिबन्धित पार्टी वा समूहले आफ्नो गतिविधिलाई अर्को अर्थात् दोस्रो चरणमा लैजान खोजेको सङ्केत मिलेको सुरक्षासम्बद्ध अधिकृतहरुको विश्लेषण छ ।

एकीकृत जनक्रान्तिलाई अघि बढाउन विद्रोहको विकल्प नभएको बताउने विप्लव समूहका नेताहरूले अबको क्रान्ति जनतामाझबाट हुने बताउँदै आएका बेला निहत्था शिक्षकको हत्या भएपछि अवस्था त्रासपूर्ण बनेको छ । विगतमा माओवादीले सुरु गरेको युद्धकै झल्को दिने हिसाबले घटना गराइएको स्रोतको भनाइ छ । विगतजस्तो हत्या, हिंसा र रक्तपातबाट नभई, जनताको बीचबाट अबको क्रान्ति सफल बनाउने उद्घोष उसको थियो ।

तर उक्त समूहले आफ्नो प्रतिवद्धताविपरीत व्यक्ति हत्याको बाटो रोजेको पाइएको छ । हतियारसहित विभिन्न स्थानबाट विप्लव कार्यकर्ता पक्राउ परे पनि अहिलेसम्म उसले कुनै व्यक्ति हत्याको घटना गराएको थिएन । एनसेल टावर, स्थानीय तहका कार्यालय, सर्वाजनिकस्थल लगायतमा आगजनी र बम विष्फोटका घटनाहरु हुँदै आएका थिए । कतिपय घटनाको जिम्मा विप्लव समूहले लिए पनि कतिपय अनुसन्धानकै चरणमा छन् ।

शिक्षक हत्याको घटनालाई उक्त समूहले रक्षात्मक अवस्था र प्रतिकारका क्रममा भएको दाबी गर्छ । व्यक्ति हत्या गर्ने तहसम्म समूह नपुगेको उक्त समूहको गतिविधि तत्काल नियन्त्रणमा लिने नीति सरकारले बनाउनुपर्ने सुझाव सुरक्षा अधिकारीले दिएका छन् । विप्लव समूह आफूविरुद्ध सुराकी गरेको नाममा आम नागरिक र अरुको पनि हत्या गर्ने चरणमा प्रवेश गरेको भन्दै यसलाई गहन ढङ्गले विचार गरेर निर्णय लिनुपर्ने सुझाव उनीहरुको छ ।

२०७६ साल असार २५ गते बुधबार बिहान भोजपुर सदुरमुकामको पाँचधारे होटल नजिक प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु भएकामा प्रहरी जवान सञ्जीव राई र ‘विप्लव’ समूहका ओखलढुङ्गा इन्चार्ज नीरकुमार राई रहेका छन् । प्रहरी जवान खेमनाथ भट्टराई घाइते भएका थिए ।

शिक्षक हत्याको पछिल्लो घटना त्योभन्दा फरक प्रकृतिको रहेको एक प्रहरी अधिकृतले बताए । केहीअघि समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीलाई भूमिगतको विल्ला भिराउन खोजेको भन्दै आपत्ति जनाएका थिए । एउटा अन्तर्वार्तामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भूमिगत भनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

आफ्नो पार्टी लोकप्रिय र जनप्रिय रहेको भन्दै चन्दले भूमिगत पार्टी पञ्चायतकालमा बाध्यता भए पनि अहिले प्रतिस्पर्धामा आइरहेको र गृहमन्त्रीको शब्दले आतङ्कित पार्ने काम भएको दाबी गरेका थिए । तर सरकारी अधिकारीहरुले उनको उक्त दाबी झुटो भएको र शिक्षक हत्याको घटनाले त्यसलाई चिरेको बताएका छन् । प्रहरी स्रोतका अनुसार कुनै पनि सङ्गठन जब व्यक्ति हत्याको चरणमा पुग्छ र जिम्मेवारी लिन्छ भने त्यो सङ्गठन भूमिगत स्थितिमा गइसकेको र उसले हिंसात्मक बाटो रोजेको भन्ने बुझ्नुपर्छ । हत्याको घटनाले विप्लव समूह आफ्नो सशस्त्र सैनिक गतिविधितर्फ उन्मुख भइसकेको प्रष्ट हुने सुरक्षा स्रोतले बतायो ।

‘हत्याको चरणमा पुग्नु र जिम्मेवारी लिनु भनेको राज्यको कानुन मान्दैनौं, संविधान मान्दैनौं र हिंसात्मक उद्देश्यतिर नै जान्छौं भन्नु हो’, सुरक्षा अधिकारी भन्छन्, ‘त्यसैले अब विप्लव समूह भूमिगत भइसकेको छ र यसका गतिविधिलाई निस्तेज पार्न सरकारले थप कदम चाल्नुको विकल्प छैन ।’

गृहमन्त्री बादलले गत वर्ष १३ जेठमा संसदमा बोल्दै विप्लव समूहले जनपरिषद् गठन गरेको र चार कम्पनी सेना बनाएको खुलासा गर्दै सुरक्षा निकायलाई आक्रामक बन्न निर्देशन दिएका थिए । त्यसपछि उक्त समूहविरुद्धको कारबाहीलाई तीव्र पारेर लगिएको थियो । स्रोतका अनुसार त्यसबेला विप्लव समूहले संसद् सङ्गठन विस्तार गर्दै एकीकृत रुपमा सैन्य गतिविधिलाई अघि बढाउने तयारी गरेको सूचना प्राप्त भएको थियो । त्यसवेला विप्लव समूहले १, २, ३ र ४ नम्बर कम्पनीका नाममा संरचना बनाएको रिपोर्ट सेना र नेपाल प्रहरीलाई प्राप्त भयो ।

विप्लव समूहले बनाएको कम्पनीमा द्वन्द्वकाल जति नै सङ्ख्या नभए पनि प्रशिक्षण र युद्ध गर्ने हिसाबले सैन्य तयारीलाई भने तीव्र पारेर लगेको जानकारी सुरक्षा निकायमा थियो । मुलुक कोरोना महामारी नियन्त्रणमा केन्द्रित भएका बेला समूहले पूर्वी र मध्यपश्चिम क्षेत्रका पहाडी भेगमा हतियार तथा कार्यनीतिका बारेमा समूहगतरुपमा प्रशिक्षण दिएको जानकारी प्राप्त भएको सुरक्षा स्रोतको भनाइ छ ।

शिक्षक हत्याको घटनालाई पनि उक्त समूहले गरेको त्यही तयारीका रुपमा लिइएको छ । नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयले डेढ महिनाअघि गरेको पृतनापति सम्मेलनमा विप्लव समूहलाई मुख्य सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरी हिंसात्मक गतिविधि बढाउन सक्ने रिपोर्टिङ भएको थियो । भरपर्दो नमानिए पनि राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले समेत सेनाकै जस्तो रिपोर्ट तयार पारेको थियो । तर राअविको प्राय रिपोर्ट भरपर्दो मानिँदैन । अरु विभागका पछाडि लागेर आफूलाई काम गरेको देखाउने प्रवृत्ति रहेको भन्दै उसको आलोचना हुने गरेको छ ।

नेपाल प्रहरीले पनि सुरक्षा चुनौतीका रुपमा विप्लव समूहलाई लिएको थियो । प्रहरीले पछिल्लो समय उसका गतिविधिलाई पूर्णरुपमा नियन्त्रणमा लिएको, समूहलाई छिन्नभिन्न पारिएको र नेताहरुलाई निगरानीमा राखिएको दाबी गरिरहेका बेला शिक्षक हत्याको घटना भएको हो । हत्याको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशमा हत्या, हिंसाको विकराल कालखण्ड ब्युँताउने कोशिश भएको भन्दै सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको एउटा कार्यक्रममा बोल्ने क्रममा उनले भने, ‘समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको छ, समाज दिग्भ्रमित भएको छ ।’

मोरङ घटनाप्रति लक्षित गर्दै ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रहसमेत गरेका छन् । साथै, सरकार यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको उनले बताएका छन् । ‘हुन त एउटा घटनाले मात्रै विप्लव समूह हिंसात्मक गतिविधि अघि बढाउँदै अर्को चरणमा प्रवेश गर्‍यो भन्न मिल्दैन’, स्रोतले भन्यो, ‘तर, संकेत चाहिँ सुखद् छैन, त्यस्ता गतिविधिमा जान लागेको हो कि भन्ने देखियो ।’

शिक्षक हत्याको घटना बाहिरिएपछि विप्लव समूहप्रति सरकार थप आक्रामक बन्ने रणनीतिमा रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार व्यक्ति हत्याकै बाटो अवलम्बन गरेपछि विप्लवका गतिविधि नियन्त्रणमा लिने थप प्रयास सरकारबाट हुनु स्वभाविक हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले घटना अनुसन्धानकै क्रममा रहेका कारण थप विषय खुल्दै गएपछि सरकारले निर्णय लिने बताए । ‘नयाँ नीतिभन्दा पनि भएकैलाई कडाइका साथ निरन्तरता दिने हो’, उनले भने, ‘विप्लव समूहले गराएको घटना र उसले मच्चाइरहेको चन्दा आतंक लगायतका गतिविधि नियन्त्रणमै अहिले सरकार केन्द्रित छ ।’

विप्लव समूह थप आक्रामक बनेको र व्यक्ति हत्यासम्म पुगेको प्रहरीको विश्लेषण छ । नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले बोलीमा एउटा र गराइमा अर्कै देखिएकाले विप्लव समूहले हिंसाको बाटो रोजेको प्रष्ट हुने बताए । त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिलाई विश्लेषण गरेर सुरक्षा तैनाथी मिलाइएको उनको भनाइ छ ।

सरकारले विप्लव समूहमाथि २८ फागुनमा ०७५ मा प्रतिबन्ध लगाउँदै समूहका कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्न आदेश दिएको थियो । सरकारी आदेशपछि प्रहरीले विप्लवविरुद्धको कारबाहीलाई तीव्र र आक्रमक बनायो । विभिन्न ठाउँमा विशेष अप्रेसन चलाएर समूहमा राम्रो प्रभाव जमाएका नेताहरुलाई पनि नियन्त्रणमा लियो । तर, नीतिगत अस्पष्टताका कारण प्रहरीले समातेका अधिकांश नेता, कार्यकर्ता छुटिसकेका छन् भने एउटै व्यक्ति चार पटकसम्म पक्राउ परेर छुटिसकेका छन् ।

प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार प्रतिबन्ध लगाएयता मंसिर पहिलो सातासम्म एक हजार नौ सय ४७ जना पक्राउ परेका छन् । तीमध्ये एक हजार छ सय ७८ जना छुटेका छन् । एक सय ४३ जनालाई मात्रै अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

प्रहरी समात्ने र अदालत छाड्ने क्रम सुरु भएपछि प्रतिबन्धित समूहविरुद्धको कारबाहीमा सुरक्षा संयन्त्र हच्किएको अवस्था छ । हाल प्रहरीले कुनै आपराधिक गतिविधिमा संलग्नता नदेखिए छाड्ने नीति लिँदै आएको थियो । तर, अब सरकारले प्रतिबन्धित समूहमाथिको कारबाहीलाई स्पष्ट पार्नुपर्ने सुरक्षा सम्बद्ध अधिकृतहरुको भनाइ छ ।

हाल प्रहरीले विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ गर्नेबित्तिकै राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने गरेको थियो । त्यसलाई प्रमाणित गर्ने आधार नहुँदा नेता, कार्यकर्ताहरु छुट्ने गरेका छन् । प्रहरीले समूहका नेतामाथि प्रतिबन्ध लाग्नुअघि पनि यही मुद्दा चलाउने गरेको थियो ।

त्यसैले अबका दिनमा विप्लव समूहप्रति सरकारले स्पष्ट नीति लिएर त्यहीअनुसार कानुन बनाउनु पर्ने सुरक्षा निकायको माग छ । नभए, विप्लव समूहका नेता पक्राउ पर्दै-छुट्दै भइरहने र जनताले पनि दुःख पाउने क्रम नरोकिने अधिकारीहरू बताउँछन् । यसअघि तत्कालीन विद्रोही माओवादीलाई प्रतिबन्ध लगाएपछि सरकारले आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८ अनुसार कारबाही गर्ने गरेको थियो ।

यसैबीच शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र वरपरको क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ । घटनास्थललाई चारैतिरबाट घेरा हालेर सर्च गर्दै हत्या गर्नेको खोजी थाल्न प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले निर्देशन दिएका छन् । हत्यामा संलग्नको खोजी र पहिचानका लागि प्रदेश प्रहरी कार्यालयबाट पनि विशेष टोली उनले खटाएका छन् ।

विशेष सर्च अभियान सञ्चालन गर्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफैं टोली लिएर पुगेका छन् । रातभर उनकै नेतृत्वमा मिक्लाजुङ आसपासमा प्रहरीले कारबाही अघि बढाएको थियो । घटनामा संलग्न कोही पनि अहिलेसम्म नियन्त्रणमा पर्न नसकेको प्रहरीले जनाएको छ । एसपी खड्काले जतिसक्दो चाँडो घटनामा संलग्नलाई पक्राउ गर्ने हिसाबमा प्रहरी अघि बढाएको जानकारी । घटनास्थल वरपरको सुरक्षा अवस्था मजवुत बनाएर सबै नाका सिलल गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष अप्रेसन चलाइएको उनले बताए ।

jackson ribon