birat ribon

नेकपा द्वन्द्वमा वाम–बुद्धिजीवीको खोजी

Neuro
नेकपा द्वन्द्वमा वाम–बुद्धिजीवीको खोजी

कृष्ण अधिकारी

cura insider

सङ्घीय गणतान्त्रिक संविधान बनेपछि भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र एक्ला–एक्लै चुनाव लडेका थिए । त्यसपछि सङ्घीय संसद् र प्रदेश संसद्का लागि भएको निर्वाचनमा ती पार्टी एउटै भएर चुनाव लडे, उल्लेखनीय सफलता पनि प्राप्त गरे । पार्टी एकीकरण गर्ने घोषणा भयो । दुवै पार्टीका अध्यक्ष एउटै पार्टीको सह–नेतृत्व गर्ने भए । पार्टीलाई जेट विमानको संज्ञा दिइयो, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई संयुक्त पाइलट भनियो ।

स्थानीय चुनावसम्म एमाले र माओवादी केन्द्रको आपसी सम्बन्ध वर्ग–सत्रुजस्तो थियो । केपी ओली जन्मजात माओवादीविरोधी देखिन्थे । प्रचण्डले पनि ‘एमाले भन्ने पार्टीको कुनै अस्तित्व छैन’ भन्ने सार्वजनिक घोषणा गरेका थिए । सैद्धान्तिक दृष्टिले पनि दुई पार्टीबीच मान्यता फरक थियो । बाध्यताले संसदीय प्रणाली स्वीकार्नुपरेको भए पनि माओवादी संसदीय प्रणालीको पक्षमा थिएन । त्यो पार्टीले २०५२ सालमा संसदीय प्रणालीविरुद्ध नै हतियार उठाएको थियो । प्रधानमन्त्रीय प्रणालीको पक्षमा पनि माओवादी थिएन । उसले चाहेको त प्रत्यक्ष राष्ट्रपतीय प्रणाली थियो । नौलो जनवाद उनीहरूको कार्यदिशा थियो ।

अर्कोतर्फ एमाले संसद्वादी पार्टी थियो । जनताको बहुदलीय जनवाद उसको सैद्धान्तिक कार्यदिशा थियो । भन्ने हो भने केपी शर्मा ओली पनि खुसीले गणतन्त्र स्वीकार गर्ने मान्छे थिएनन् ।
यस्तो परिस्थितिमा एकाएक पार्टीको एकीकरण हुनुलाई एउटा नाटकीय घटनाको रूपमा हेरिएको थियो । माओवादी कार्यकर्तामा प्रचण्डको निर्णय हो ठिकै होला भन्ने थियो । हैकमवादमा त्यस्तै हुन्छ । तर एमालेका कार्यकर्ता तप्कामा एकीकरणप्रति संन्तुष्टि थिएन । कतिपय कार्यकर्ता–पङ्क्तिबाट खुलेरै असन्तुष्टि जाहेर भएको थियो । केपी ओलीनजिक पार्टी–पङ्क्तिले एकीकरणको अन्ध समर्थन गरे । उनीहरूले ठाने ओली कमरेडको निर्णय जे भए पनि मान्नुपर्छ ।

अन्ततः एमाले–वृत्तका सबैले एकीकरण नामको चुनावी गठबन्धनलाई स्वीकार गरे । त्यसको मुख्य कारण थियो आमनिर्वाचनमा बढीभन्दा बढी सिट जित्ने महत्त्वाकाङ्क्षा ।
बाध्यात्मक परिस्थितिवश भएको गठबन्धन नेपाल कक्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनमा बहुमत पायो । तर उनीहरू त्यतिले मात्र सन्तुष्ट भएनन् । मधेसवादी दलसँग अस्वस्थ्य गठबन्धन गरेर दुईतिहाइ बहुमत बनाए ।

त्यसो त निर्वाचनमा पार्टी र उम्मेदवारहरूले ९० प्रतिशत झुटो बोल्छन् भन्ने मतदातालाई थाहा छ । तर यहाँ अनौठो भयो । प्रधानमन्त्री भइसकेपछि केपी ओलीले कतिपय कुराहरू सत–प्रतिशत नै झुटो बोल्न थाले । केरुङ–काठमाडौँ रेल, काठमाडौँ–पोखरा रेल । पोखरा पुगेपछि बेनी रेल पुग्ने कुरा पनि भनिरहनु पर्ला र ? जस्ता हावा कुरा बोल्न थाले । घरघरमा ग्यास पाइप र पानीजहाजका कुरा गरे । तर काम शून्य भयो । तस्कर र भ्रष्टहरूले सरकार चलाउन थाले ।

प्रचण्डको दाउ पनि प्रधानमन्त्री हुने र क्रमशः पार्टी कब्जा गर्ने भयो । त्यसैका लागि ओलीसँग सम्झौता गरे । ‘आलोपालो प्रधानमन्त्री’ भन्ने प्रचण्डको अभीष्ट प्रधानमन्त्रीमात्र होइन, कार्यकारी राष्ट्रपतिसम्मको थियो । आफू प्रधानमन्त्री भएपछि संविधान संशोधन गर्न दुईतिहाइ चाहिन्छ भन्ने सोचका कारणले नै मधेससँग ‘लभ परेको छ’ भन्दै हिँड्थे प्रचण्ड ।

हृदयदेखि नै गणतन्त्रको पक्षमा नरहेका ओली र गणतन्त्र स्थापना गरेको कार्ड भजाएर राष्ट्र–नायक बन्ने अभीष्ट पालेका प्रचण्ड सारमा उत्तरी र दक्षिणी ध्रुवजत्तिकै फरक थिए । तथापि रूपमा निजी स्वार्थका कारण मिलेका थिए । निजी स्वार्थकै कारण पार्टी एकीकरणको कामलाई थन्क्याएर सत्ता पद र स्वार्थमा केन्द्रित भएका थिए । नेकपाको दुर्भाग्य नै त्यहीँबाट सुरु भयो ।
वास्तवमै भन्ने हो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनमात्र भएको थियो, एकीकरण भएको थिएन । तर एकीकरण भएको भ्रममा दुवै दलले आफ्नो पार्टी खारेज गर्न पुगे । नेकपा नामको एउटा तदर्थ पार्टी बनाए ।

त्यसै अवस्थामा पनि सत्ता–स्वार्थ र पदीय स्वार्थलाई थाति राखेर केन्द्रदेखि गाउँसम्मका कमिटीहरूको एकीकरण र महाधिवेशन गरेको भए तमाम कार्यकर्ताले एउटै पार्टी नेकपा स्वीकार गर्थे र एउटै वैधानिक पार्टी ‘नेकपा’ स्थापित हुने थियो । नेकपामा अहिले जुन असहज परिस्थिति उत्पन्न भएको छ, त्यसको सम्भावना त्यतिखेरै समाप्त हुने थियो । तर भयो उल्टो ।

नेकपाभित्रका बुद्धिजीवीहरू यतिखेर कोही ओलीको पक्षमा दन्त–बझान गर्दै छन्, कोही प्रचण्ड र नेपालको पक्षमा । नेकपामा पढालेखा, बुद्धिजीवी, अध्ययनशील, प्राध्यापक–डाक्टर धेरै छन् । बुद्धिजीवी परिषद् नै होला पार्टीको । प्रगतिशील लेखक सङ्घ नामक स्रष्टाहरूको संस्था पनि नेकपाप्रति समर्पित छ । तर लाजमर्दो कुरा, यत्रा वाम–बुद्धिजीवीहरू हुँदाहुँदै पनि उनीहरूबाट नेकपालाई गलत बाटोमा जानबाट रोक्न शब्द खर्च भएको छैन ।

निष्पक्ष धारणा सार्वजनिक गर्ने हिम्मत भएको वाम–बुद्धिजीवी देखिएको छैन । बरु वादी र प्रतिवादीजस्ता प्रचण्ड र ओलीको पक्षमा झन्डा उठाएर कटाक्ष गरिरहेका छन् । उनीहरूलाई त आफूले गरेको काम ठीकै लागेको होला । तर दुनियाँले कुरीकुरी भनिरहेको छ भन्ने हेक्का होस् । वाम–बुद्धिजीवी (?)हरूलाई सरस्वती माताले रक्षा गरुन् !

jackson ribon