birat ribon

कोइम्यानलाई पिर्लोको साथ : रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट

Neuro
कोइम्यानलाई पिर्लोको साथ : रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट

विराटनगर/ इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानप्रति सहमति जनाएका छन् । च्याम्पियन्स लिगअन्तर्गत आज राति हुन लागेको खेलको पूर्वसन्ध्यामा बोल्दै पिर्लोले कोइम्यानप्रति सहमति जनाएका हुन् ।

cura insider

आज राति युभेन्टस र बार्सिलोनाबीचको खेल हुँदैछ । बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन ।

किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । यस खेलमा युभेन्टस बार्सिलोनाविरुद्ध हारको बदला लिने दाउमा हुनेछ । भन्दा अगाडिको भेटमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । बार्सिलोना भने युभेन्टसविरुद्ध लगातार जित निकाल्ने दाउमा छ ।

आजको खेल मेस्सी तथा रोनाल्डोका लागि भने प्रतिष्ठाको लडाइँ बन्न सक्ने देखिएको छ । पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् ।

मेस्सी र रोनाल्डोको ९ वर्षसम्म प्रतिद्वन्द्विता देखिएको थियो । रोनाल्डो रियल मड्रिडमा छँदा उनीहरूको प्रतिस्पर्धा गर्ने एकमात्र खेल ‘एल क्लासिको’ थियो । तर, सन् २०१८ मा स्पेन छोडेर इटाली आएयता मेस्सी र रोनाल्डोले एक–अर्काविरुद्ध खेल्ने मौका पाएका थिएनन् ।

सो खेलअघि कोइम्यानले रोनाल्डो र मेस्सीको प्रतिद्वन्द्विता महान भएको बताउँदै यस खेलबाट भरपुर मनोरञ्जन हुने बताएका थिए । ‘पक्कै पनि भोलिको राति उत्कृष्ट हुनेछ । हामीले भोलि च्याम्पियनद्वय मेस्सी र रोनाल्डोलाई एक–अर्काको सामना गर्दैगरेको देख्न पाउनेछौं । उनीहरू पछिल्ला १५ वर्षयताकै उत्कृष्ट खेलाडी हन्’, उनले भने ।

यसैगरी कोइम्यानले मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘उनीहरू दुईमध्ये को उत्कृष्ट भन्नु ठीक होइन । म दुवैलाई उत्कृष्ट ठान्छु, किनकि उनीहरू दुवै अविश्वनीय हुन् । उनीहरूको प्रतिद्वन्द्विता महान् थियो । र, दुवैले हामीलाई भोलि मनोरञ्जन दिनेछन् ।’

‘रोनाल्डो, जो अझै पनि एक महान् च्याम्पियन खेलाडी हुन् । रोनाल्डो सधैं गोल गर्न संघर्षरत रहन्छन् । हामी भोलिको खेलका लागि सोचिरहेका छौं । हामी रक्षात्मक खेल्ने प्रयासमा रहनेछौं र बल पोजिसनमा राख्ने कोशिसमा लाग्नेछौं’, उनले भने ।

कोइम्यानको भनाइप्रति युभेन्टसका प्रशिक्षक पिर्लो सहमत भएका छन् । पिर्लोले भनेका छन्, ‘यो विषयमा कोइम्यान ठीक छन् । रोनाल्डो र मेस्सीमध्येमा को उत्कृष्ट भन्ने जवाफमा म कुनै एकजनाको नाम लिन सक्दिँन । दुवै उत्कृष्ट खेलाडी हुन्, उनीहरूका करौडौँ समर्थक छन् । हामीले उनीहरूलाई धन्यवाद मात्र भन्न सक्छौं ।’

यसैगरी पिर्लोले रोनाल्डोको प्रदर्शनबाट आफू सन्तुष्ट एवं खुशी देखिएको सुनाए । ‘यदि, रोनाल्डो राम्रो लयमा छन् भने यसको अर्थ उनी सही ठाउँमा सही समयमा छन् । उनीलाई मैदान उतार्न पाउँदा हामी खुशी हुन्छौं,’ उनले भने ।

jackson ribon