birat ribon

समाजसेवी शिक्षकको हत्या, गाउँ नै शोकमा

Neuro
समाजसेवी शिक्षकको हत्या, गाउँ नै शोकमा

विराटनगर/मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएपछि गाउँ नै शोकमा डुबेको छ । स्थानीय समाजसेवी श्रेष्ठको हत्यापछि बर्खे गाउँ शोकमा डुबेको हो ।

cura insider

स्थानीय सरस्वी आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी हुन् । ‘गाउँमा केही पर्दा उहाँ सहयोग गर्न सधैँ अगाडि हुनुहुन्थ्यो,’ छिमेकी मदन श्रेष्ठ भन्छन्, ‘हामीले अभिभावक गुमायौं ।’

श्रेष्ठको मंगलबार बिहान विप्लव समूहका कार्यकर्ताले घरबाट उठाएर लगेको थियो । स्थानीयले खोज्दै जाँदा उनको शव जंगलमा फेला पारेका थिए । उनको टाउकोमा गोली प्रहार भएको थियो ।

मंगलबार बिहान मदनको घरमा रहेको पसलमा रिचार्ज किनेर फर्किएको केही समयपछि राजेन्द्रलाई छ जनाको समूहले अपहरण गरेको थियो । नचिनेको समूहले जवरजस्ती लिएर गएको करिब एक घण्टापछि गाउँले खोज्नका लागि गएका थिए । घरनजिकैको जंगलमा विभत्स अवस्थामा ५४ वर्षीय श्रेष्ठको शव भेटिएको थियो ।

‘उहाँ (राजेन्द्र) लाई रिचार्ज कार्ड दिएपछि म बस्तु सार्न थालेँ,’ उनले भने, ‘त्यति बेला अज्ञात समूहले लगेको जानकारी आएपछि ४–५ जना भेला भएर खोज्न गयौं ।’ जंगलमा जाँदा विभत्स अवस्थामा शव भेटिएको उनले बताए । शव भेटेपछि गाउँ नै शोकमा डुबेको उनले बताए ।

मिक्लाजुङ गाउँपालिका–१ का वडाअध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए । शिक्षकलाई घरबाट लिएर गएको केही समयपछि हत्या गरेको खबर आएको उनले जानकारी दिए । श्रेष्ठको घर विकट क्षेत्रमा पर्छ ।

शिक्षक श्रेष्ठको हत्यापछि एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले शिक्षकको हत्या भएपछि अनुसन्धान सुरु गरेको बताए ।

मिक्लाजुङमा विप्लव समूहको शैन्य गितिविधि तीव्र भएपछि प्रहरीले १२ कात्तिकमा छापा मारेको थियो । सो क्रममा प्रहरीले दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

पाँचथर, इलाम, धनकुटा र मोरङको सीमावर्ती क्षेत्र उत्तरी मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास गर्दै आएको सूचनापछि पुगेको प्रहरीले इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेको थियो ।

jackson ribon