birat ribon

कोभिडको रिपोर्ट पोजेटिभ आएपछि ध्यान दिनुपर्ने कुरा

Neuro
कोभिडको रिपोर्ट पोजेटिभ आएपछि ध्यान दिनुपर्ने कुरा

विराटनगर/कोभिडको परीक्षण गरेपछि रिपोर्ट पोजेटिभ आउँदा स्पष्टै पनि चिन्ताजनक हुन सक्छ ।

cura insider

कोभिडको रिपोर्ट पोजेटिभ आएपछि मान्छे आत्तिएर के गर्ने भन्ने कुराको निर्णय गर्न गाह्रो हुन्छ । जब कि ८० प्रतिशतभन्दा बढी सङ्क्रमण हल्का वा मध्यमखालका हुन्छन्, जसकारण प्रत्येक बिरामीलाई अस्पताल भर्ना हुन आवश्यक नहुन पनि सक्छ । डाक्टरको सल्लाह लिएर सही समयमा ठीक कदम चालेमा सङ्क्रमणलाई गम्भीर हुनबाट रोक्न सकिन्छ ।

पोजेटिभ रिपोर्ट आएको थाहा पाएपछि सबैभन्दा पहिला डाक्टरसँग परामर्श गर्नु पर्छ । लिनु पर्ने औषधि, आहारको बारेमा डाक्टरले राम्रो तरिकामा मार्गदर्शन गर्छन् । पहिलादेखि स्वस्थ्यमा समस्या भएमा वा केही उपचार गराइरहेकाले डाक्टरलाई सूचित गर्नुपर्छ । आफ्नै खुसीले औषधिको सेवन गर्न कहिले पनि सल्लाह दिइँदैन ।

सङ्क्रमण पुष्टि भएपछि अरुलाई सङ्क्रमणको जोखिम नहोस् भनेर आफूलाई आइसोलेट गर्नुपर्छ । आइसोलेसनमा बसेको बेलामा प्रयोग गरिने भाडा र अन्य सामानलाई पनि कम्तिमा दुई हप्ताका लागि अलग्गै राख्नुपर्छ । साथै, सकेसम्म अलग्गै शौचालयको प्रयोग गर्नु पर्छ र प्रत्येक पटकको प्रयोगपछि राम्ररी सफा गर्नुपर्ने हुन्छ । एउटै छतमुनि बस्ने सबैजना न्यूनतम एक हप्ताका लागि भए पनि क्वारेन्टाइनमा बस्नु पर्छ ।

सङ्क्रमितको सम्पर्कमा आएका वा वरपरका व्यक्तिहरूलाई राम्ररी बुझाएर कोभिडको परीक्षण गराउन वा सतर्कता अपनाउन सल्लाह दिनु पर्छ । सङ्क्रमितको हेरचाहका लागि कोही न कोही हुनु जरुरी हुन्छ । खाना, खाद्यान्न, औषधि र आपतकालीन अवस्थाका लागि साथ दिने व्यक्ति आवश्यक हुन्छ । एक्लै बस्ने मानिस भए पनि घरमा चाहिने सामान वा अन्य आपतकालीन अवस्थाका लागि कोही न कोही हुनु पर्छ ।

लक्षण र सङ्क्रमणको गम्भीरतामा निर्भर गर्दै बिरामीलाई विभिन्न उपचारको आवश्यकता हुन सक्छ । रगतमा अक्सिजनको स्तर जाँच गर्नका लागि अक्सिमिटर राख्न महत्वपूर्ण हुन्छ । बिपी वा चिनीको समस्या हुनेहरूले रक्तचाप मोनिटर र ग्लूकोमिटर पनि आफूसँगै राख्नुपर्छ । आइसोलेसनमा बसेपछि आफूमा देखिएको लक्षणलाई ट्रयाक गर्न आवश्यक छ । त्यसमध्ये पनि सास फेर्न गाह्रो हुने समस्या, असुविधा, अक्सिजनको स्तरलाई नजिकबाट अनुगमन गर्नुपर्छ । यसले सङ्क्रमणलाई गम्भीर अवस्थामा पुग्नुअघि संकेत दिएर ज्यानलाई जोगाउन सकिन्छ ।

आइसोलेसनको समयमा खानपानमा ध्यान दिने, सरसफाइमा ध्यान दिने, योग तथा ध्यान गर्ने, व्यायाम वा शारीरिक गतिविधि गरिरहने, नकारात्मक विचार हटाउने तथा आत्मवल बढाउने गर्नुपर्छ । १४ दिनको आइसोलेन बसाइपछि पुनः परीक्षण गर्न सकिन्छ । रिपोर्ट नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्नु नै उचित हुन्छ । साथै, रिपोर्ट नेगेटिभ आएपछि घरलाई सेनिटाइज गरी, सतर्कता अपनाउन छोड्नु हुँदैन ।

रिपोर्ट नेगेटिभ आए पनि पूर्णरुपमा निको हुन समय लाग्न सक्छ । रिपोर्ट नेगेटिभ आए पनि देखिएका लक्षण नहराएमा थप केही दिनका लागि आइसोलेसनमै बस्न सकिन्छ । एक पटक सङ्क्रमित भइसकेपछि जोखिम रहँदैन भनेर सोच्न सकिँदैन । पुनःसङ्क्रमण हुन सक्ने सम्भावना रहेको हुँदा सङ्क्रमणबाट जोगिनका लागि सबै सावधानी अपनाउनु नै आवश्यक हुन्छ ।

jackson ribon