birat ribon

साँघुरियो घाँस चोक : पातलिए घाँस व्यापारी

Neuro
साँघुरियो घाँस चोक : पातलिए घाँस व्यापारी

मोहन ढकाल

विराटनगर/केही वर्षअघिसम्म विराटनगरको गुद्री बजारपश्चिम सरौचियामा बिहान–बेलुका घाँस बिक्री गर्ने र किन्नेको घुइँचो लाग्थ्यो । घाँस किनबेच भएका कारण सो ठाउँको नाम नै घाँस चोक भयो । सरौचियाको घाँस–बजार भनेपछि पूर्वमा अघिल्लो पुस्ताका प्रायः सबैलाई थाहा छ ।

cura insider

तर पछिल्लो समय सरौचियाको घाँस चोकमा चहलपहल पातलिएको छ । घाँस किनबेच गर्न आउनेको सङ्ख्या घटेको छ ।

स्थानीय चन्द्रकलादेवी साहका अनुसार २०३० सालताका घाँस चोकमा प्रतिमुठा २५ पैसाका दरले घाँस किनबेच हुन्थ्यो । घाँस किनबेच गर्ने बजार लाग्थ्यो । वरपरका गाउँबाट किसिम–किसिमका घाँस लिएर मानिसहरू आउँथे । घाँस बेचेर आएको पैसाले पारिवारिक आवश्यकताका सामान किनेर फर्किन्थे । तर पछिल्लो समय घाँस खोज्न आउने मान्छेहरू घटेसँगै बेच्न आउनेहरू पनि छिटपुट हुन थाले ।

६ लेन सडक बिस्तार भएका कारण घाँस बिक्री गर्न आउनेहरू पलायन भएको स्थानीय बताउँछन् । ‘पहिले घाँस बेच्न आउनेको भिड हुन्थ्यो,’ उनले भनिन्, ‘आजभोलि कोही–कोही मात्र आउँछन् । सडक विस्तार भएसँगै घाँस बेच्न राख्ने ठाउँ पनि मासियो ।’

‘पहिला फराकिलो ठाउँ भएकाले घाँस बेच्न आउने मानिसको सङ्ख्या धेरै हुन्थ्यो,’ स्थानीय रामजी साहले भने, ‘त्यो समय प्रायः सबैको घरमा गाईबस्तु पाल्ने चलन थियो ।’

साहका अनुसार उनका हजुरबाको पालादेखि नै सरौँचियाको घाँस बजार नामी थियो । ‘त्यो बेला विराटनगरमा प्रायः घरमा गाईबस्तु, घोडा अनिवार्यजस्तै हुन्थे । तर अचेल सहरीकरणले गर्दा त्यस्तो प्रचलन कम भयो,’ उनले भने, ‘घाँस बेच्ने पनि कहिलेकाहीँ मात्रै आउने गरेका छन् । त्यो पनि एक–दुई जनामात्रै हुन्छन् ।’

स्थानीयका अनुसार ३० वर्षअघिसम्म घाँस चोकमा खजुर, पिपललगायत रुख थिए । तर सडक विस्तारका नाममा सबै रुख काटिए । बजारका घरको स्वरुप पनि फेरिए । त्यो बेला विराटनगरमा प्रायःका घरमा गाईबस्तु, घोडा अनिवार्य जस्तै हुन्थे । तर अचेल सहरीकरणले गर्दा त्यस्तो प्रचलन कम भयो । हाट लाग्ने ठाउँको अभाव भयो । मानिसको पशुपालन गर्ने चलन बदलियो ।

स्थानीय शिव साहका अनुसार पुराना साना झुुुप्रा घर हटाएर नयाँ संरचना निर्माण भएका छन् । ‘पहिला घाँस बेच्न आउनेका कारण दैनिक मेला नै लागेजस्तो हुन्थ्यो,’ साहले भने, ‘तर आजभोलि कहिलेकाहीँ दुई-तीन जनामात्रै आउने गर्छन् । त्यसमाथि ल्याएको घाँस फर्काएर लानुपर्ने हुन थालेपछि बेच्न आउनेहरू घटेका हुन् ।’

अहिले सानोतिनो जत्रो लागे पनि विराटनगरको घाँस बजारले आफ्नो अस्तित्व भने जोगाइराखेकै छ । यहाँ प्रतिमुठा १० रुपैयाँमा घाँस किनबेच हुन्छ ।

jackson ribon