birat ribon

पर्यटकको नयाँ गन्तब्य पानीटार

Neuro
पर्यटकको नयाँ गन्तब्य पानीटार

इलाम । इलामको देउमाई नगरपालिकाको पानीटारमा पर्यटकको आकर्षण बढ्न थालेको छ । पानीटारका बारेमा केही समय अघिसम्म जिल्लावासी नै बेखबर थिए ।

cura insider

चियाबारीका लागि कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो ।

स्थानीय तह र सम्बन्धित निकायले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ ।

स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो ।

अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटक मात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि शुरु भएको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर केही तलतिर झर्नुपर्छ ।

सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । यसका साथै झापाको विर्तामोड–शनिश्चरे हुँदै मङ्गलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ ।

पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् ।

हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य पानीटार बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउनुहुन्छ । शेर्पाका अनुसार मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो ।

केही समयअघि मात्रै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभिनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारीमा सुटिङ भएको थियो ।

प्राकृतिक छायाङ्कनस्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षक चियाबारी र शान्त क्षेत्र भएकाले आफूहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेको चलचित्र निर्देशक केवल तामाङ बताउछन् । रासस

jackson ribon