birat ribon

आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

चीन र नेपाल दुवैतर्फ सार्वजनिक हुने

Neuro
आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदैचीन र नेपाल दुवैतर्फ सार्वजनिक हुने

विराटनगर/ नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार (आज) सार्वजनिक गर्ने भएको छ ।

cura insider

नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जनाएका छन् ।

यही १० मङ्सिरको मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।
नेपाल सरकारको साधन–स्रोतमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको हो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ ।

त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार आठ सय ५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार आठ सय ४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

२०७२ सालको भूकम्पपछि नापी विभागले गरेको सर्वेमा काठमाडाँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । यसलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ । त्यसपछि भारतले सगरमाथाको उचाइ नाप्न खोजेको थियो तर नेपालले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको सुझावसमेत लिएर आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणासहित काम अगाडि बढाएको हो ।

गत वर्ष डिसेम्बरमा नै उचाइ सार्वजनिक गर्ने गरी समय तोकिएको थियो । तोकिएको समयमा काम हुन नसक्दा करिब एक वर्ष ढिलो हुन गएको हो । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले तथ्याङ्क प्रशोधनमा समय बढी लागेकाले केही ढिलो भएको जानकारी दिए । आजको गोरखापत्रमा समाचार छ ।

jackson ribon