विराटनगर/ नेपालमा कमेडी धारका गीतमा रुचाएका एउटा नाम हो, बोकेदाह्री अर्थात् श्रीकृष्ण लुँइटेल । आफ्नो नामभन्दा बढी कामले चिनिने गरेका छन् उनी ।
समाजमा घटेका विभिन्न घटनालाई गीतमार्फत हासो–व्यङ्ग्य शैलीमा केही न केही संदेश दिने प्रयास दिने गरेका हुन्छन्, उनले । बोकेदाह्रीको नाम थाहा नभए पनि उनको ‘ए बा किन्देऊ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नुजस्तो’, थुप्रै गीतहरू नसुन्ने कमै होलान् ।
साङ्गीतिक क्षेत्रमा उनको यात्रा र साङ्गीतिक क्षेत्रमा पछिल्लो समय के कस्तो परिवर्तनको अनुभवलगायत कोसी अनलाइनका पाँच प्रश्नः
साङ्गीतिक क्षेत्रमा तपाईंको यात्रा कसरी सुरु भयो ?
स्कुल समयदेखि गीतप्रति रुचि थियो । घरको माहोल पनि भजनकीर्तनको थियो । यसरी नै साङ्गीतिक करिअर अगाडि बढ्यो ।
तपाईंको गीतहरूमा त्यस्तो के खास छन्, जसले यो उचाइ प्राप्त भयो ?
मेरो गीतमा सन्देश धेरै पाइन्छ, मीठा शब्दहरू सम्मिश्रण, बच्चादेखि बूढासम्मलाई मन पर्ने, मन छुने खालका सन्देशमुलक हुन्छन्, जुन समाजमा मन पराइन्छ । यसैले उचाइ कायम भएको छ ।
एल्बम गीतहरूबाट थोरै चर्चा बटुल्न साथ फिल्मका गीतहरू गाउने अवसर धेरै मिल्ने गरेको छ, तपाईंले अवसर नपाउनु भएको होकि फिल्मी गीतमा रुचि नदिनु भएको ?
चलचित्रमा पनि गीत गाएको छु । दुई तीन वटा मात्र चलचित्रका गीत छन् । अफर आयो भने गाउने छु ।
साङ्गीतिक क्षेत्रको यो लामो यात्रामा के के परिवर्तन पाउनु भयो ?
परिवर्तन त धेरै भएको छ, पहिले र अहिले । साङ्गीतिक बजारदेखि लिएर हरेक कुरामा । अहिले गीत गाएर बाँच्न सकिन्छ । कभर गीत गाएर पनि अहिले भाइरल हुन सजिलो छ पहिले त्यस्तो हुँदैन थियो ।
अब आफ्नो यही शैलीलाई स्थापित गर्ने हो कि नयाँ धारमा जाने हो ?
यही शैलीलाई अपनाएर नयाँ तरिकाले प्रस्तुत हुन आवश्यक छ । अहिले पनि समाजमा विभिन्न नकारात्मक कार्यहरू भइरहेको छन् । त्यही कुरालाई म गीतमार्फत प्रस्तुत गरी दर्शक–स्रोताहरूलाई सचेत गराउँछु ।