birat ribon

युभेन्टससँगको खेलअघि बार्सिलोनाका प्रशिक्षकले गरे रोनाल्डोको तारिफ

Neuro
युभेन्टससँगको खेलअघि बार्सिलोनाका प्रशिक्षकले गरे रोनाल्डोको तारिफ

विराटनगर/ युरोपियन च्याम्पियन्स लिगमा मंगलबार राति इटालियन च्याम्पियन युभेन्टस र स्पेनको जायन्ट बार्सिलोनाबीचको खेल हुँदैछ । बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

cura insider

यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

तर, भोलिको खेल बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने प्रतिष्ठाको लडाइँ बन्न सक्छ । पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् ।

यसभन्दा अगाडिको भेटमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । तर, सो खेलमा पोर्चुगिज स्टार रोनाल्डो उपस्थित थिएनन् । कोरोना संक्रमण भइ उनी होम आइसोलेशनमा थिए । यस खेलमा दुवै उपलब्ध हुने भएकाले यो खेल प्रतिष्ठाको लडाइँ बन्नसक्ने देखिएको हो ।

मेस्सी र रोनाल्डोको ९ वर्षसम्म प्रतिद्वन्द्विता देखिएको थियो । रोनाल्डो रियल मड्रिडमा छँदा उनीहरूको प्रतिस्पर्धा गर्ने एकमात्र खेल ‘एल क्लासिको’ थियो । तर, सन् २०१८ मा स्पेन छोडेर इटाली आएयता मेस्सी र रोनाल्डोले एक–अर्काविरुद्ध खेल्ने मौका पाएका थिएनन् ।

यता, खेलअघि भने बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले पुनः एकपटक रोनाल्डो र मेस्सीको प्रतिद्वन्द्विताको चर्चा गरेका छन् । कोइम्यानले रोनाल्डो र मेस्सीको प्रतिद्वन्द्विता महान भएको बताउँदै मंगलबार राति हुने यस खेलबाट भरपुर मनोरञ्जन हुने बताए ।

‘पक्कै पनि भोलिको राति उत्कृष्ट हुनेछ । हामीले भोलि च्याम्पियनद्वय मेस्सी र रोनाल्डोलाई एक–अर्काको सामना गर्दैगरेको देख्न पाउनेछौं । उनीहरू पछिल्ला १५ वर्षयताकै उत्कृष्ट खेलाडी हुन्’, उनले भने ।

यसैगरी कोइम्यानले मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘उनीहरू दुईमध्ये को उत्कृष्ट भन्नु ठीक होइन । म दुवैलाई उत्कृष्ट ठान्छु, किनकि उनीहरू दुवै अविश्वनीय हुन् । उनीहरूको प्रतिद्वन्द्विता महान् थियो । र, दुवैले हामीलाई भोलि मनोरञ्जन दिनेछन् ।’

‘रोनाल्डो, जो अझै पनि एक महान् च्याम्पियन खेलाडी हुन् । रोनाल्डो सधैं गोल गर्न संघर्षरत रहन्छन् । हामी भोलिको खेलका लागि सोचिरहेका छौं । हामी रक्षात्मक खेल्ने प्रयासमा रहनेछौं र बल पोजिसनमा राख्ने कोशिसमा लाग्नेछौं’, उनले भने ।

jackson ribon