Rumpum Advertisement

धान उत्पादनमा झापा अब्बल, प्रदेशमा नाै प्रतिशतले बढ्यो

धान उत्पादनमा झापा अब्बल, प्रदेशमा नाै प्रतिशतले बढ्यो

विराटनगर/ प्रदेश १ का अन्न भण्डारको रूपमा रहेका झापा, मोरङ र सुनसरीमध्ये धान उत्पादनमा झापा अब्बल सावित भएको छ । प्रदेश १ कृषि निर्देशनालयका अनुसार झापामा यस वर्ष प्रदेश १ को अन्य जिल्लाको अनुपातमा बढी धान उत्पादन भएको हो ।

झापामा चार लाख १५ हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेशमा नाै प्रतिशतले धानको उत्पादन बढेको छ ।

प्रदेश १ मा यो वर्ष तीन लाख ३२ हजार हेक्टरमा धान खेती भएको निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले जानकारी दिइन् । जहाँ १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताइन् ।

गत वर्ष प्रदेशमा तीन लाख २० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा ११ लाख ९८ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । मोरङमा यस वर्ष तीन लाख ४९ हजार ६० मेट्रिक टन धान उत्पादन भएको छ । सुनसरीमा दुई लाख ३० हजार ६ सय ९२ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, पहाडी जिल्ला पाँचथरमा २२ हजार तीन सय १८, इलाममा ५१ हजार पाँच सय १६, भोजपुरमा ३९ हजार एक सय १७, तेह्रथुममा २१ हजार एक सय ८७, धनकुटामा २३ हजार चार सय २९, उदयपुरमा ५४ हजार आठ सय ५८ ओखलढुङ्गामा १३ हजार दुई सय नाै र खोटाङमा २९ हजार तीन सय ४२ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

यस्तै ताप्लेजुङमा २१ हजार ८२, सङ्खुवासभामा ३६ हजार १२ र सोलुखुम्बुमा तीन हजार छ सय २० मेट्रिकटन धान उत्पादन भएको छ ।

मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले धान उत्पादनमा वृद्धि भएको सूचना अधिकारी श्रेष्ठले बताइन् ।