Rumpum Advertisement

विराटनगरका विद्यालय पुसबाट खुल्ने, दुई सिफ्टमा कक्षा

Neuro
विराटनगरका विद्यालय पुसबाट खुल्ने, दुई सिफ्टमा कक्षा

विराटनगर÷ विराटनगरका विद्यालय खुल्ने भएका छन् । कोरोना महामारीबीच २ पुसबाट विराटनगरका सबै विद्यालय खुल्ने भएका हुन् ।

कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना महामारीका कारण ११ चैतयता विद्यालयले भौतिक रूपमा कक्षा सञ्चालन गर्न पाएका छैनन् । आइतबार बसेको बैठकले २ पुसबाट विद्यालय खुला गर्ने निर्णय गरेको पराजुलीले बताए ।

‘विद्यालय सञ्चालनअघि अभिभावकसँग छलफल हुन्छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेपछि मात्र कक्षामा उपस्थित हुन पाइन्छ ।’

उनका अनुसार जोखिम कायम नै रहेकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गरिनेछ । अनलाइन कक्षा पनि नियमित सञ्चालन गर्न सकिनेछ ।

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार आठ सय ८३ पुगेको छ । तर पछिल्लो समय सङ्क्रमण निरन्तर घट्दोक्रममा रहेको मेयर पराजुलीले बताए ।

‘कोरोना सङ्क्रमणको चेन-ब्रेक भएको छ । यसलाई नै कायम राखेर सतर्कतासहित कक्षा सञ्चालन गर्ने तयारी छ,’ उनले भने, ‘पछिल्लो समय कोरोना जाँच गर्नेको सङ्ख्या पनि घटेको छ ।’